मेसीलाई कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड
पेरिस - अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।
३६ वर्षीय मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४९२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए। बालोन डीओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।
मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् उनीपछि क्रिस्टियानो रोनाल्डोले यो पाँच पटक जितेका छन् ।
हालान्डले ३५ लिग खेलहरूमा कीर्तिमानी ३६ गोल र सबै प्रतियोगिताहरूमा ५२ गोल गरेपछि सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जित्यो। उनलाई गर्ड मुलर ट्रफीमा उत्कृष्ट गोलकर्ताको उपाधि दिइएको थियो।
इंग्ल्याण्ड र रियल मड्रिडका मिडफिल्डर जुड बेलिङह्यामले २१ वर्ष मुनिका विश्वकै उत्कृष्ट खेलाडीको कोपा ट्रफी जितेका छन् । रियलकै विंगर भिनिसियस जुनियरले मैदान बाहिर नस्लवाद विरुद्ध उनको योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरे ।
अर्जेन्टिनाको विश्वकप विजेता तथा एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले विश्वकै उत्कृष्ट गोलकिपरको यासिन ट्रफी पाएका छन् ।