Nic Ad Nic Ad
Nic Ad Nic Ad
माझीबस्ती निर्माण

माझी बस्ती अलपत्र पार्ने अभिनेत्री श्वेता खड्कालाई अदालतको झड्का, यसअघि के–के भएको थियो?

बुधबार, कात्तिक १५, २०८०

काठमाडौं श्वेताश्री फाउन्डेशनमार्फत सिन्धुपाल्चोकको माझी बस्तीको जग्गाको ऋण तिर्ने घोषणा गरेकी अभिनेत्री रञ्जना उर्फ श्वेता खड्कालाई अदालतले झड्का दिएको छ।

उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिँदै लिखित जवाफ पेश गर्न खड्कासहित सम्बन्धित बैंकलाई भनेको छ।

मंगलबार न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो।

अदालतले लक्ष्मी सनराइज बैंक र खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न समेत आदेश दिएको हो।

श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माणको क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो। तर अहिलेसम्म पनि ऋण भुक्तानी नभएको र घरजग्गा लिलामीमा जाने भएपछि माझीहरुले अदालत रिट दायर गरेका थिए।

हेलबहादुर माझीलगायतले रिट हालेका थिए।

खड्काको चर्चा फिल्मको पर्दाबाट भन्दा बढी माझी बस्ती पुनर्निर्माण गरिदिने प्रचारबाट भएको थियो। अहिले त्यहि बस्ती अलपत्र अवस्थामा छ।

अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेको एक महिना नपुग्दै उनले पति वियोगको पीडा खेप्दा सान्त्वना पाएकी थिइन्।

माझी बस्ती निर्माण आर्थिक अभावका कारण अलपत्र पर्दा पनि उनको आलोचना भएको थियो। तर, ध्यान दिन सकिनन्। यही समयमा उनले पाँच वर्षको वैधव्य त्याग्दै निकै ठूलो खर्च गरेर बिहे गरिन् । दुईपटक त उनले रिसेप्सन पार्टी नै दिएकी थिइन् ।

बिहेमा ठूलो रकम खर्च गरेर माझी बस्तीका लागि अरूसँग चन्दा याचना गरेको भन्दै उनको विरोधमा टिप्पणी नभएका होइनन्।

२०७४ साल माघमा श्वेताले माझीबस्ती निर्माणको औपचारिक घोषणा गरेकी थिइन्। ६ बर्षपछि त उनलाई अदालतले अन्तरिम आदेश नै जारी गरिसकेको छ।

उनले श्वेता श्री फाउण्डेसन का नाममा सहयोग रकम जुटाएर बस्ती निर्माणको काम अघि बढाइन्। सबै किसिमका सञ्चार माध्यममा उनको प्रशंसा भयो।

श्वेता माझी बस्ती निर्माणका लागि सामाजिक सञ्जालमार्फत रकम जुटाउन सक्रिय भइन्।

विदेशमा बस्ने नेपालीलाई पनि आह्वान गरेकी थिइन्। तर यसै अलपत्र भएकोचाहिँ अदालतमा पुगेपछि सार्वजनिक भयो।

श्वेताले सबैले गौरव गर्न लायक बस्ती निर्माण गर्ने घोषणा गरेकी थिइन्। यता माझी बस्तीका बासिन्दाहरूले आफूहरूको थाप्लोमा उल्टै चार लाख रूपैयाँ ऋण थोपरिएको भन्दै गुनासो गरेका थिए। त्यो समस्या लिएर उनीहरु अदालतसम्म न्यायका लागि पुगेका थिए।

यस विषयमा अभिनेत्री खड्का र श्वेताश्री फाउन्डेशनले औपचारिक रुपमा कुनै जानकारी दिएको छैन।

क्यानडा नेपालले यसअघि नै श्वेता फाउन्डेशनबारे ब्रेकिङ गरेको विषय हेर्नुहोस्

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्