एमाले बाहिरिनु गलत, सहमतिमै सरकार बनाउछाैँ : मुख्यमन्त्री कार्की
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अझै पनि सहमतिको सरकार बनाएर जाने बताएका छन् ।
शनिवार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री कार्कीले आफुलाई मुख्यमन्त्री बनाउने दलको एजेण्डालाई बोकेर सरकार गठन गरेको बताए । उनले एमालेको सहमतिविपरित माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको सन्दर्भमा प्रदेशमा सहमतीय सरकार बनाउने एमालेको एजेण्डा नै आफूले कार्यान्वयन गर्न खोजेको बताए ।
मुख्यमन्त्री कार्कीले यसअघि एमाले सरकारमा रहुञ्जेल माओवादी र एकीकृत समाजवादी सरकारमा आउन नचाहेको अवस्थामा आफूले छलफलपछि समाधान गरेकोमा एमाले बाहिरिनु गलत भएको बताए । सहमतीय सरकारमा सामेल भएर प्रदेशको समृद्धि र सुशासनमा जुट्न एमालेलाई आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशको जटिलता र परिवर्तनको विरुद्ध भएको चलखेलविरुद्ध मुख्य राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए ।
त्यस्तै, उनले कोशीको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।