कोशीमा सर्वदलिय सरकार बनाउनुपर्छ : अध्यक्ष नेपाल
विराटनगर– नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोशी प्रदेशमा सर्वदलिय सरकार बनाउनुपर्ने बताएका छन् ।
शनिबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले कोशीमा स्थीरता कायम गर्न सर्वदलीय÷सवपक्षिय सरकार बनाउनुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले केन्द्रमा एक प्रकारको गठबन्धन भएपनि कोशी प्रदेशमा भने सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनुपर्ने उल्लेख गरे । उनले कुनै एक पक्षलाई निषेध गर्ने वातावरण कोशी प्रदेशमा नरहेको जिकिर गरे । कोशी प्रदेशको नामाकरण बारे उठेको विवाद आवश्यक नरहेको बताउदै उनले जनताको भावनालाई सम्मान गर्न कोशी प्रदेश सभा बैठकले नामाकरणको विषय टुङ्ग्याउनुपर्ने धारणा राखे ।
अध्यक्ष नेपालले आममाफी दिने विषयमा सर्वोच्च अदालतको परमादेश उपयुक्त भएको र विगतमा गरिएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्न सरकारलाई आग्रह समेत गरे ।