Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

आइतबार, कात्तिक १९, २०८०

काठमाडाैं - घरेलु टोली नेपालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको फाइनलमा खेलमा ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएकाे थियाे ।

नेपाल समूह चरणमा व्यहोरेको हारको बदला लिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ। अपराजित ओमान पनि जितको लयलाई कायम राख्दै उपाधि जित्न चाहन्छ। समूह चरणमा ओमानले नेपाललाई पाँच रनले पराजित गरेको थियो ।

प्रशिक्षक मोन्टी देसाई ओमानविरद्धको खेलमा एक परिवर्तन गरेका छन्। चोटका बबाजुत जोखिम मोलेर युएईविरुद्धको खेल खेलेका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई ओमानविरुद्ध भने विश्राम दिइएको छ । उनको स्थानमा सन्दीप जोराले मौका पाएका छन् ।

सिंगापुरविरुद्धको पहिलो खेलअघि अभ्यास गर्ने क्रममा खुट्टामा चोट लाग्दा उनले समूह चरणका कुनै पनि खेल खेलेका थिएनन्। युएईविरुद्ध मैदान उत्रिए पनि दीपेन्द्रले ब्याटिङ र बलिङ दुवै गर्नु परेको थिएन।

हालसम्म दुई टोलीबीच पाँच खेल हुँदा नेपालले तीन तथा ओमानले दुई खेल आफ्नो पक्षमा पारेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्