स्वदेश फर्किए परराष्ट्रमन्त्री साउद
काठमाडौँ– अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरेर परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्किएका छन् ।
अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनको निमन्त्रणामा मन्त्री साउद वासिङटन गएका थिए । उनी आइतबार साँझ स्वदेश फर्किएका हुन् ।
अमेरिकामा रहदा उनले अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गरे ।
भेटवार्ताका क्रममा अमेरिकी समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएको, मुलुकको आर्थिक बिकासका लागि छलफल भएको जानकारी दिए । त्यस्तै एमसीसी कार्यान्वयनमा दुवै टोलीले जोड दिएको उनले बताए ।
साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहेका थिए ।