Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फाकाे विशेष साधारणसभा आज

बिहीबार, कात्तिक २३, २०८०

काठमाडाैं - अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज (बिहीबार) बस्दैछ। बाग्मती प्रदेशको राजधानीमा हेटौडामा आज बस्ने साधारण सभामा  एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले  आफूविरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् ।

विशेष साधारण सभाका लागि एन्फाले कार्यसूची तयार गरिसकेको छ । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष र महासचिव किरण राईमाथि बर्खास्तीको निवेदन राखेका थिए । नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिवले आफूविरुद्ध बर्खास्त सामना गर्नुपरेकाे हाे । एन्फामा कुल १०५ सदस्य छन् । जसमध्ये साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।

एन्फाको गत १७ असोजमा आपत्कालीन बैठक बसेको थियो । सो बैठकले महासचिव राईको बर्खास्तगी कार्यसमितिले मात्रै गर्न सक्ने र अध्यक्षले विशेष साधारणसभाबाट अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गरेको थियो । सो आपत्कालीन बैठकमा १२ सदस्य सहभागी भएका थिएनन् । हैटौँडामा बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो ४ बजे मात्र बस्न सक्यो । बैठकले मकवानपुरमा साधारणसभा गर्ने निर्णय गरेको हो । अध्यक्ष नेम्वाङले आवश्यक मत प्राप्त गर्न नसक्ने बैठकमा सहभागी एक सदस्यले बताएका छन् ।

बहुमत सदस्यले राखेको महासचिवको बर्खास्तगी माग कार्यसमितिले निर्णय गर्न नसक्दा एन्फाको विवाद अदालतसम्म पुगेको थियो । भक्तपुर जिल्लाका सदस्य सुनील श्रेष्ठले अध्यक्ष नेम्वाङ, महासचिव राई र प्रवक्तालाई विपक्षी बनाउँदै २६ असोजमा मुद्दा राखेका थिए । पाटन उच्च अदालतले १६ कात्तिकमा अन्तरिम आदेश जारी नहुने भन्दै फैसला गरेको थियो । त्यसपछि अध्यक्ष र महासचिवविरुद्धको छिनोफनो साधारणसभाबाट हुने तय भएको हो ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्