एन्फा अध्यक्ष नेम्वाङको अविश्वासको प्रस्ताव अस्वीकृत
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल भएको छ । मकवानपुरको हैटौँडामा बिहीबार सम्पन्न एन्फाको विशेष साभारणसभामा भएको मतदानमा अविश्वासको प्रस्ताव असफल भएको हो ।
मतदानमा ८७ मध्ये कुल ५३ मत खसेको थियो । त्यसमध्ये एक मत बदर भएको थियो । मतदानमा अविश्वासको प्रस्तावको पक्षमा एक मत पनि खसेन ।
अविश्वासको प्रस्ताव असफल भएसँगै अध्यक्ष नेम्वाङको पद जोगिएको छ । नेम्वाङले एन्फा अध्यक्ष पदमा निरन्तरता पाएका छन् ।
अध्यक्ष र महासचिवविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको विषयमा निणर्य गर्न मकवानपुरको हैटौँडामा एन्फाको विशेष साधारणसभा भएको थियो ।
असन्तुष्ट पक्षको विरोधको बावजुद विशेष साधारणसभामा मतदान पक्रिया अघि बढाइएको थियो । यसअघि असन्तुष्ट पक्षले आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरेपछि विशेष साधारणसभामा असहज स्थिति सृजना भएको थियो ।
अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गर्ने पक्षले विशेष साधारणसभा विधिसम्मत तरिकाले सञ्चालन नभएको आरोप लगाएका छन् । उनीहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईको अविश्वास प्रस्तावविरुद्ध मतदान सुरु हुनुअघि आफूले बोल्न पाउनुपर्ने माग राखेका थिए ।
सोही विषयलाई लिएर सभा हलभित्र होहल्ला पनि सुरु भएको थियो । त्यसैले विशेष साधारणसभा स्थलमा ठूलो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
विशेष साधारणसभाको माग गर्ने पक्षले नियमसम्मत तरिकाले साधारणसभा सञ्चालन नभए आफूले बहिष्कार गर्नेसम्मको चेतावनी दिएका थिए ।
विशेष साभारणसभा विहान ८ बजे बोलाइएको थियो । तर, निर्धारित समयभन्दा करिब चार घन्टापछि मात्र विशेष साधारणसभा सुरु भएको थियो ।
हेटौँडास्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्र नै नगरी सिधै सभालाई अगाडि बढाइएको थियो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका कारण एन्फा अध्यक्ष नेम्वाङले विशेष साधारणसभाको अध्यक्षता गर्न नमिल्ने अवस्था थियो । सोही कारणले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले विशेष साधारणसभाको अध्यक्षता गर्नुपर्ने थियो । तर, खड्काले विशेष साधारणसभाको अध्यक्षता गर्न नमानेपछि उद्घाटन सत्र नै गरिएन ।
एन्फा इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने नेम्वाङ पहिलो अध्यक्ष हुन् । एन्फा कार्यसमितिको असोज तेस्रो साता बसेको बैठकले विशेष साधारणसभामा अध्यक्षविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई मात्र निर्णयार्थ प्रस्तुत गर्ने निणर्य गरेको थियो ।
महासचिवविरुद्धको बर्खास्तीको प्रस्ताव भने विशेष साधारणसभामा प्रस्तुत नगर्ने निणर्य त्यो बैठकले गरेको थियो ।
अध्यक्षविरुद्धको अविश्वास प्रस्तावमा मात्र कार्यसमितिको अधिकार क्षेत्रभित्र पर्ने भएकाले महासचिवको बर्खास्तीको प्रस्ताव साधारण सभामा प्रस्तुत नगर्ने निणर्य एन्फा बैठकले गरेको थियो ।
गत भदौ २५ गते एन्फाका ४८ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेका थिए । उनीहरुले वर्तमान एन्फा अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धरासायी बनाउन लागिपरेको र उनीहरुलाई सो पदमा निरन्नरता दिँदा नेपाली फुटबलको भविष्यमाथि नै क्षति पुग्ने आरोप लगाएका थिए ।
एन्फाका एक सय पाँचमध्ये ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार छ । बर्खास्तीको पक्षमा दुई तिहाई पुगेमा अध्यक्ष नेम्बाङ पद मुक्त हुनेछन् ।
विशेष सधारणसभाको निरीक्षणका लागि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिको पनि उपस्थिति रहेको छ ।