उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल
उत्तरकाशी- उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ । सुरुङभित्र ४० जना कामदार फसेका छन् । उद्धार टोली सुरुङको १५ मिटर भित्रसम्म पस्न सफल भएको छ ।
उद्धारकर्मीहरूले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहर हटाउन बाँकी रहेको बताएका छन् । साथै फसेका कामदारसँग सञ्चार स्थापित गर्न सक्षम भएको उनीहरूले बताएका छन् ।
“सुरुङ करिब ६० मिटर गहिरो छ, हामीले फोहर हटाउने क्रममा माथिबाट फोहर खसिरहेको छ, हिजो हामीले सुरुङभित्र फसेका मानिसहरूसँग सम्पर्क स्थापना गर्यौँ, हामी सुरुङभित्र करिब १५ मिटरसम्म पुगेका छौँ र अझै पनि ३५ मिटर जान बाँकी छ”, उत्तरकाशीका सर्कल अधिकारी प्रशान्त कुमारले भने, “अहिलेसम्म सबै जना सुरक्षित छन्, हामीले अक्सिजन र पानी उपलब्ध गराएका छौँ, हामीले सुरुङभित्र जानका लागि छेउमा अर्को बाटो बनाइरहेका छौँ ।”
उद्धार दलले सुरुङभित्र फसेका कामदारहरूलाई खाजा र पानी दिइएको भन्दै आज साँझसम्ममा भग्नावशेष पन्छाएर कामदारहरूलाई बाहिर निकाल्न सकिने अपेक्षा गरिएको जनाएको छ ।