गाउँको तिहार सम्झिएर न्यास्रो मान्दै सहरिया
“आहै झिलीमिली झिलिझिली
के को झिलिमिली
आहै बत्तिको झिलिमिली
सिमल बारुलै सिमल बारुलै….”
गायक नवीनकुमार खड्का र पुस्तका खड्काका मात्रै होइन धेरै लोकप्रिय गायक र कलाकारका स्वरमा हरेक तिहारमा टेलिभिजन, रेडियो र सामाजिक सञ्जालमा देउसी–भैलोका गीत गुञ्जिएका हुन्छन् । मौलिक नेपाली संस्कृतिका रुपमा रहेको यो देउसी–भैलोको परम्परा पछिल्लो समयमा प्रत्यक्ष खेलेरै संस्कृति संरक्षण गर्ने कार्यमा कमी आएको देखिन्छ ।
तिहारको रौनकसँगै गाउँ-सहरमा झिलिमिली बत्तीको उज्यालो छाउँछ । घरका ढोका र आँगनदेखि ढोकासम्म सयपत्री र मखमली फूलका माला र रङ्गोलीले सजिएका हुन्छन् ।
पहिला पहिला गाउँघरको दैउसी–भैलीको रौनक बेग्लै हुन्थ्यो । राँको, टर्च लाइट, लालटिन वा मैनटोल बालेर कात्तिक कृष्णपक्षका रातमा परबाट देउसी–भैलीको टोली गाउँदै हिँडेका हुन्छन् । कुनै घर नजिकै पुग्न लागेपछि कुकुर भुक्न थाल्छ । घरका बा-आमाले आँखा तन्काउँदै हेर्छन् । ओहो, देउसी–भैलो टोली आएछ है भन्दै स्वागतको तयारीमा जुट्छन् ।
‘हरियो गोबरले लिपेको,
लक्ष्मी पूजा गरेको,
ए… औँशीको बारो गाईतिहारो भैलो’
गाउँदै विभिन्न भाकामा बूढाबुढी, बालबालिका र युवाहरु एकसाथ नाचगान गरेर जाने बेलामा घरधनीले खुसी मनले नाङ्गलामा चामल, दियो बत्ती, सेल–रोटी, फलफूल, मिठाइ र दक्षिणा ठीक पार्छन् । देउसी भैलो खेल्नेले ‘ढुङ्गा छुँदा अन्न होओस्, यो घरमा सुनको छाना होओस्’ आदि भनेर आषिश पनि दिने गर्दछन् ।
नेपाली मौलिक संस्कृतिका रुपमा रहेको यो परम्परा पछिल्ला वर्षमा हराउनुमा सहरिया जीवनशैली, युवाहरुको विदेश पलायन, आर्थिक मन्दी, कोभिड–१९ पछिको अवस्था, समय समयमा आइपर्ने विपद्का घटना आदि कारण देखिएका छन् । देउसी–भैलो तिहारको मौलिक गहना हो । तिहार भन्नासाथ देउसी–भैलोको झझल्को हरेकलाई आउने गर्छ । समयक्रमसँगै सांस्कृतिक रहनसहनमा परिवर्तन आएकाले तिहारको रौनक क्रमिक रुपमा घट्दै गएको छ ।
यो वर्ष पनि तिहारको चहलपहल निकै घटेको छ । विगतका वर्षहरुमा गाउँघरदेखि सहरमा देउसी–भैलो खेल्ने हुलका हुल रातभर हिँड्थे । तिहारलाई थप उल्लासमय बनाउँथ्यो । तर, यसपटक तिहारमा विगतका वर्षमा जस्तो उल्लासमय देखिँदैन । त्यसो त विदेशमा रहने नेपालीले आफू बसेका ठाउँमा पनि चाडपर्व मनाएका हुन्छन् । उनीहरुले त्यहाँ नेपाल र नेपालीको संस्कृतिप्रतिको माया दर्शाउँदै नाचगान गरेका भिडियो सामाजिक सञ्जालमा देखिन्छन् ।
काठमाडौँ उपत्यकालगायत मुख्य सहरदेखि भित्री गल्लीहरुमा पनि देउसी–भैलोको चहलपहल देखिँदैन । कतिपय घरटोलमा त बत्तीको झिलिमिली पनि छैन । अति व्यस्त बजार असन, नयाँसडक, वसन्तपुरतिर त्यत्ति चहलपहल छैन । वसन्तपुर क्षेत्रमा केही विदेशी पर्यटक घुमिरहेका भेटिए पनि बजारमा किनमेल खासै बढेको छैन ।
पहिला पहिला खैजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा नै हाम्रो संस्कृतिको वैभव हो । देउसी–भैलोबाट जम्मा भएको रकम विद्यार्थीको पठनपाठन, मठ, मन्दिर, चौतारी, पँधेरा, कुवा निर्माण तथा दिनदुःखीलाई दान दिने जस्ता सामाजिक पवित्र काम गरिने असल परम्परा पनि हुनेगर्दथ्यो ।
पश्चिमा संस्कृति र आधुनिक पप-सङ्गीतको प्रभावका कारण मौलिक संस्कृतिमा प्रतिकूल असर परेको संस्कृतिविद् एवं पाका नागरिकको बुझाइ रहेको छ । संस्कृतिविद् जगमान गुरुङ मेमोरी कार्ड राखेर डिस्को बजाउँदै नाच्नेजस्ता विकृतिले मौलिक संस्कृतिलाई गाँज्दै गएको बताउँदै देउसी र भैलोको आदर्श र मर्यादा गुम्दै गएको जानकारी दिन्छन् ।
“राजनीतिक दलका भातृृ सङ्गठन र संस्थाले राजनीतिक अभिष्ट र आर्थिक सङ्कलनको स्वार्थ राखेर देउसी भैलो खेल्न थालेका पनि देखिएको छ । सनातन कूलधर्म र परम्परालाई बजारमुखी बनाइएको छ । नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको मुहान सुक्न थालेको छ’’, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गुरुङले भने, “गाउँघरमा द्वन्द्वकालदेखि नै मानिस विस्थापन हुँदै गए । सहरमा सहरिया जीवनशैलीले मानिसमा सामाजिकता हराउँदै गएको छ । संस्कृतिलाई संयमित बनाउने नाममा सरकार र स्थानीय तहले यतिबजेसम्म खेल्न पाइने र नपाइने भनेर नियम बनाएको छ । यी सबैको मारमा देउसी भैलो पनि परको छ ।’’
साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ यमपञ्चकसहितको तिहारले काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइपूजा गरेर जनावर, प्रकृति र कृषि कर्मको पूजादेखि आपसी भातृत्वको संरक्षण गर्ने बताउँछन् । यस्तो असल परम्परालाई जोगाउनु सबैको दायित्व भएको पुडासैनीको आग्रह छ ।
अर्का साहित्यकार सरिता अर्याल सामाजिक अपराधका घटनको डरले सहरमा रातिसम्म हिँडडुल गर्न असुरक्षा हुने गरेको र संस्कार–संस्कृतिमा कमी आएका कारण यस वर्ष देउसी भैलो खेल्नेहरु न्यून भएको बताउँछन् । भोजपुरको साल्पा सिलिछो गाउँपालिका–४ का ७० वर्षीय उद्धवबहादुर राई गाउँघरमा पनि पहिला पहिला जस्तो उल्लासमय तिहार नभएको बताउँछन् । “गाउँमा तन्नेरीहरु छैनन् । बूढाबुढीले खेल्न जानु पनि भएन । पहिलाको जस्तो मजा हुनै छाडेको छ ।’’
संखुवासभा घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ६८ वर्षीय लालबहादुर बुढाथोकी आजभोलि देउसी खेल्ने र मनाउनेहरु धेरै कम देखिएको जनाउँदै साना साना बालबालिका अलिअलि देखिए, अरु देखिएनन् । युवा पुस्तामा धर्म–संस्कृतिप्रतिको विश्वास र लगाव कम भएर पनि उनीहरुको रुचि घटेको हुन सक्ने उहाँको भनाइ छ ।
प्यूठान घर भइ हाल भक्तपुर बस्दै आएका खुम केसीको अनुभवमा सरहको तिहार न्यास्रो भएको छ । कोभिडपछि धेरै व्यावसायी काठमाडौँ उपत्यकाबाट बाहिरएकाले पनि चलहपलहमा कमी आएको उनको भनाइ छ । पौराणिक मान्यताअनुसार दानवीर कहलिएका बलीराजालाई दमन गर्न वामनको रुप धारण गरेका भगवान विष्णुको सहारामा देवताहरु लागेका बेला तीन पाउ जमिन पाउँ भनेर माग्दा बलीराजाले त्यति जमिन दिने सङ्कल्प गरे । वामनको अवतार ठूलो हुँदै गएकाले उनको एउटा पाउले पृथ्वी र अर्को पाउले आकाश ढाक्न थाले ।
वामनको तेस्रो पाउ पर्नासाथ बलीराजा भासिएर पाताल पुगे । त्यसपछि राजाले विष्णुसँग वर्षमा एक पटक तिहारमा पृथ्वीलोक घुम्न पाउने वरदान लिए । तिनै बलीराजा पृथ्वीमा आउने भएपछि दीप प्रज्ज्वलनसहित देउसी भैलो खेल्ने गरिन्छ । सबै ठाउँमा बलिराजा जान नभ्याउने भएकाले देउसी र भैलो खेल्ने समूहले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए…’ भन्दै घरघरमा पुग्ने गरेका हुन् भनिएको छ ।