Nic Ad Nic Ad
Nic Ad Nic Ad
जाजरकाेट भूकम्प

भूकम्प पीडितको आँगनमा आएन तिहार

बुधबार, कात्तिक २९, २०८०

 त्रिवेणी रुकुम पश्चिम - जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो। सयौँ घरबारविहीन भए। प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ। उनीहरूको तिहार मनाउने सपना यस पटक पूरा हुन सकेन।

सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया  भूमिका शाही मल्ल  र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो। दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजुको समेत मृत्यु हुन पुग्यो। उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पूर्णगाउँमा मृत्यु भएको थियो। उनीहरू बिरामी माइजूलाई भेट्न त्यहाँसम्म पुगेका थिए।

 

यता आठबीसकोट नगरपालिका १३ हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठूलो ब्रजपात परेको छ। आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदै छ। उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ। यतिबेला धेरै ठाउँमा तिहारको रौनक छ। ठाउँ ठाउँमा देउसीभैलो खेलिरहेका छन्, रमाइलो गरिरहेका छन्। तर लक्ष्मण जस्तै सयौँ भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन। भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबीसकोट १३ हम्पाका लक्ष्मण शाहीले बताए।

उनले भने, “अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहार सँगै बसेर सुखदुःख साटिन्थो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले ब्रजपात पर्‍यो, खुसीसमेत लुटेर लग्यो।” तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबीसको नगरपालिका १३ भल्माका हरिबहादुर ओलीले बताए।

तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षीत बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताए। त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले बताए। यो वर्ष तिहारले नछोए पनि  विनाशकारी भूकम्पबाट बाच्न सफल भएकोमा भने मल्लले खुसी व्यक्त गरे। उनले पनि सम्बन्धित निकायलाई अस्थायी बसोवासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गरे।

भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनर्निर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार सम्बन्धित स्थानीय तहलाई सोही बमोजिम तयारी गर्न भनिएको छ। भूकम्प प्रभावित क्षेत्रमा  तिहारलगतै अस्थायी पुनर्निर्माणको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्