Nic Ad Nic Ad
Nic Ad Nic Ad
मंसिर ७ को दशा

क्यानडा–नेपालसँग एमाले नेता बस्नेत भन्छन्– चुनौती सामना गर्दै व्यवस्थाविरोधी प्रसाईंसँग भिँड्न तयार

शुक्रबार, मंसिर १, २०८०

काठमाडौंराजा, राष्ट्रियता र नागरिक महाअभियानका नाममा विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्ने भनी आह्वान गरिरहेको बेला नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले पनि माइतीघर मण्डलामा कार्यक्रम राखेको छ।

एमालेविरुद्ध विष बमन गरिरहेका प्रसाईंको कार्यक्रम र युवा संघको फरक कार्यक्रमका विषयबस्तु अलग भए पनि भिडन्त हुने स्थिति देखा परेको छ। प्रसाईं हाकाहाकी भिडन्त गरिन्छ भनेर बोलिरहेका छन्।

राजनीतिक संस्कार र स्थितिमा युवा संघले के गर्छ भन्ने क्यानडा नेपालको प्रश्नमा एमाले पोलिटब्युरो सदस्य तथा युवा फाँट इञ्चार्ज महेश बस्नेत भन्छन्,‘ हामीले भ्रष्टाचार, बेथिति, राज्यको शक्तिको दुरुपयोग र व्यवस्थाबिरोधीले गरिरहेको धोकेबाजी कुराकानीको बिरोधमा कार्यक्रम गर्न लागेका हौं। यसमा प्रशासनले के कस्तो नीति लिएको छ, त्यसमा भर पर्छ।

क्यानडानेपालले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा अहिलेसम्म कार्यक्रमका लागि कसैले पनि स्थान र सुरक्षाको माग नगरेको जानकारी दिएको छ। तर, प्रसाईंको अभियान र युवा संघको कार्यक्रमको प्रचार ब्यापक भइरहेको छ।

यस्तो स्थितिमा दुवै पक्षको कार्यक्रम भएको र भिडन्त हुने स्थिति आएमा युवा संघले के गर्छ भन्ने अर्को प्रश्नमा बस्नेतको उत्तर छ,‘‘हामी देशका मुद्दाका विषयमा कार्यक्रम गर्न गइरहेका छौं, प्रशासनले सुरक्षा दिनुपर्छ। यदि प्रशासनले दिएन र व्यवस्थाबिरोधी भिँड्न आए भने हामी चुप लागेर बस्नेवाला छैनौं।

गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले कस्तो नीति लिन्छ त्यो हेर्न बाँकी छ। तर, प्रसाईंको अभियान र एमाले युवा संघ भने एक अर्काको आमने सामने हुने स्थिति अहिले देखिन्छ।

सुरक्षा मामिलाका एक जानकार प्रहरीका पूर्वमहानिरिक्षक भन्छन्,‘राज्यले यस्ता खालका कार्यक्रमलाई नजिकबाट नियाँल्नुपर्छ। राज्य संयन्त्रले बेलैमा चासो राख्न आवश्यक छ।

उता प्रतिनिधि सभाका सदस्य अमरेश सिंहले भने निषेधाज्ञा वा कर्फ्यू लगाउन राज्य तयार नभए र दुवै पक्षको कार्यक्रम भए स्थिति सामान्य नहुने बताउँछन्। उनले भनेका छन्,‘यो स्थितिलाई नियन्त्रणमा लिनका लागि राज्यले पूर्वतयारी गर्नुपर्छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्