टिकटक प्रतिबन्धविरुद्ध सर्वाेच्चमा ८ वटा रिट दर्ता, ४ गतेलाई तोकियो पेसी
काठमाडाैं- टिकटकलाई बन्द गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता भएका छन्। उक्त रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ। शुक्रवार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो ।
मङ्सिर ४ गते सो मुद्दाको एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने जनाइएको छ ।
सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।
गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८० १४:२३
प्रतिक्रिया दिनुहोस्