महिला टी-२० सिरिज : जापानलाई नेपालले दियो ११४ रनको लक्ष्य
काठमाडौँ - हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ।
हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो।
नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्। त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्। ओपनर पूजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्।
बलिङतर्फ जापानकी एलिना कुसुदा क्वीनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्।
लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८० ०९:२२
प्रतिक्रिया दिनुहोस्