नेभिगेशन
समाचार

जैविक प्रतिरोध विरुद्धको लडाइँमा व्यक्तिगत रुपमा सचेत हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं - प्रति जैविक प्रतिरोध विरुद्धको लडाइँमा तत्काल प्रतिफलको लागि सम्पूर्ण समाजले अपनत्व गरी व्यक्तिगत रुपमा सचेत हुनु जरुरी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।विश्व प्रति जैविक प्रतिरोध सचेतना सप्ताह, २०२३ को सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका छन्।

प्रति जैविक प्रतिरोध एक मौन, तर गम्भीर समस्या हो जसले एन्टिबायोटिक, एन्टिभाइरल र अन्य एन्टिमाइक्रोबियल औषधीको प्रभावकारितालाई कमजोर पार्दै हाम्रो दशकौँको स्वास्थ्यको सुरक्षामा भएको प्रयासलाई चुनौती दिएको उनले बताएका छन्।

प्रति जैविक प्रतिरोधजनक रोगहरूको द्रुत रूपमा फैलने क्रम स्वास्थ्य सेवाको चिन्ता मात्र नभई आर्थिक र सामाजिक चुनौती पनि हो जसलाई तत्काल ध्यान दिन आवश्यक रहेको समेत बताए।

सन् २०१५ देखि प्रति जैविक प्रतिरोधका विश्वव्यापी जागरूकता बढाउन र एक स्वास्थ्य अवधारणाको महत्त्व बुझाउन हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाउँदै आएको विश्व प्रति जैविक प्रतिरोध सचेतना सप्ताह यस वर्ष नेपालमा “सबै क्षेत्र जुटौँ, प्रति जैविक प्रतिरोध रोकथाम गरौँ” भन्ने मूल नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी उत्साहका साथ मनाइँदै छ ।

मानिसमा हुने सङ्क्रमणको रोकथाम तथा उपचार तथा व्यावसायिक पशुपन्छी पालन, खाद्य तथा कृषि प्रणालीमा गरिने प्रति जैविक औषधीहरूको अनुचित प्रयोग र त्यसबाट वातावरणमा निस्किने अवशेषहरूले धेरै रोग निम्त्याउने सूक्ष्म जीवाणुहरूमा प्रति जैविक औषधी विरुद्ध प्रतिरोध विकास भइरहेको छ। प्रधानमन्त्रीले विश्व प्रति जैविक प्रतिरोध सचेतना सप्ताह भव्यताका साथ सम्पन्न होस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार