विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई
काठमाडौँ– विश्वकप क्रिकेट–२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे ।
भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ र रोहित शर्माले ४७ रनको योगदान दिए ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए भने प्याट कमिन्स र जोस हेजलउडले २–२ विकेट लिए । अष्ट्रेलियाका बलर स्टार्क र कमिन्सले लगातार दबाब दिए । भारतीय मध्यक्रमले महत्वपूर्ण साझेदारी निर्माण गर्न संघर्ष गरे । अन्तिम बलमा कुलदीप यादवको रनआउटले अस्ट्रेलियाको नियन्त्रण थप्यो।
भारतलाई १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो ।
भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन । ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए ।
कोहली ५४ र राहुल ६६ रनमा आउट भए । यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए ।यस्तै, श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।