लोकतान्त्रिक गणतन्त्रमा ओली–प्रचण्डका ‘भष्मासुर’ (भिडिओ सहित)
एक पटक कल्पना गरौं त– सामाजिक सञ्जाल कोट्याँउदा दुर्गा प्रसाईंका भिडिओ अन्तरवार्ता सुन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले के सोच्दा हुन् मनमनै।
एमाले अध्यक्ष केपी शर्मा ओलीले त सांकेतिक रुपमा उनको सोचको उत्तर दिइसकेका छन् । उनी दुर्गा प्रसाईंसँग भिँड्ने मुडले नै निर्देशन दिन उद्दत भए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बरु, केही बोलिरहेका छैनन्। उनी ढुक्क छन्– प्रसाईं खहरे हुन् र मूलधारका राजनीतिक दलका अगाडि उनको यो हल्लाको रजाँई लामो हुनेछैन।
तर, जुन बेगमा प्रसाईंको आवाजले स्थान पाइरहेको छ, यसले प्रचण्ड र ओलीका निम्ति केही धक्का दिन सक्छ कि भन्ने भ्रामिक कल्पना पनि आउँछन्। यद्यपि, यो प्रचण्ड–ओलीले भोग्नुपर्ने नियती नै हो। किनभने, प्रसाईंको चुल्होको जुठो त खाएकै हुन्!
प्रसाईं यतिबेला प्रचण्ड–ओलीका निम्ति कलियुगका भष्मासुर साबित हुने उपक्रममा छन्।
पहिला त भष्मासुरका बारेमा संक्षिप्त चर्चा गरौं–
भस्मासुर पौराणिक कालमा जन्मिएको एक असुर अर्थात् राक्षस थियो। उनको वास्तविक नाम बृकासुर भए पनि शक्तिको दुरुपयोग गर्न खोज्दा आफैँबाट भष्म भएपछि मृत्योपरान्त उनको नाम भष्मासुर हुन गएको मान्यता छ।
अर्काेथरी मान्यताचाहिँ भगवान महादेवलाई जीउमा दल्ने खरानी (भष्म) ल्याउने जिम्मेवारी र शक्ति पाएका कारण पनि उनको नाम भष्मासुर रहेको भन्ने छ।
पौराणिक कथाअनुसार शकुनीका पुत्र बृकासुर एक कपटी स्वभावका असुर थिए। बृकासुरले आफू अजय बनेर सिंगै विश्वमा राज गर्नको लागि भगवान महादेवको कठोर तपस्या गरेका थिए।
उनको तपस्या देखेर खुसी भएका भगवान शिवले उनलाई वर माग्न आग्रह गरेपछि बृकासुरले कहिल्यै मर्नु नपर्ने वरदान दिन आग्रह गरे। यसबाट भगवान शिव अफ्ठेरोमा परे ।
भष्मासुरले मागेको सो वर सृष्टिको नियम विपरीत हुने भएपछि शिवले अर्को वर माग्न आग्रह गरे। अनि भष्मासुरले आफूले जसको शीरमा हात राख्यो, ऊ भष्म हुने शक्ति मागे। अन्ततः जसको शीरमा उनको नलीहाड पर्छ, त्यो व्यक्ति भष्म हुन्छ भन्ने वरदान भगवान शिवले दिए भन्ने पनि मान्यता छ।
शक्ति हातमा आएपछि उनको उन्माद चुलिँदै गयो। हुँदा–हुँदा उनले आफैँलाई वरदान दिने भगवान शिवलाई समेत चुनौति दिन थाले।
शिवजीलाई भष्म गराएर पार्वतीलाई भोग गर्ने चाहना मनमा राखेर भष्मासुर शिवको पछि लाग्न थाले। भष्मासुर शिवजीको टाउकोमा हात राखेर पछि लाग्यो। आफैँले दिएको वरदानले आपतमा परेपछि शिवजीको भागाभाग भयो।
एउटा किम्बदन्ती अनुसार शिवजी भाग्दै-भाग्दै भगवान विष्णुसँग सहारा माग्न पुगे। भगवान विष्णुले बृकासुरलाई सिध्याउने उपाय रचेर एउटी सुन्दरीको भेषमा भष्मासुरको अघि प्रकट भए। आफ्नो अघि नृत्य गरिरहेकी सुन्दरीप्रति भष्मासुर मोहित भए। बिष्णु नाच्दै गए ।
बृकासुर पनि सुन्दरीको नक्कल गर्दै नाच्न थाल्यो। नाच्ने क्रममा एकपटक सुन्दरीरुपी विष्णुले आफ्नै टाउकोमा हात राखे। उनको नक्कल गरेर नाचिरहेको बृकासुरले पनि आफ्नै टाउकोमा हात राख्यो। उसलाई आफ्नो शक्तिको विषयमा त्यसबेला हेक्का भएन। शीरमा हात परेपछि बृकासुर भष्म भयो। अनि, बल्ल शिवले छुटकारा पाए।
त्यहीकारण बृकासुर भष्मासुरका रूपमा प्रख्यात भएको पौराणिक कथामा उल्लेख छ।
यो कथासँग ओली–प्रचण्डको गैरराजनीतिक सम्बन्धको भ्रुणबाट उदय भएका प्रसाईंको अहिलेको भूमिका मेल खान्छ। प्रसाईंको घरमा पुगेर, भान्सामा मार्सी चामलको भात खाएपछि यत्तिचाहिँ भोग्नु नै पर्ने थियो।
अहिले प्रसाईं भष्मासुरको त्यो आहटलिला जस्तै गैरराजनीतिक गतिविधि, छाडातन्त्र, भाषाको हेक्का नराखी व्यवस्थामाथि धावा बोलिरहेका छन्। कारण, ओली–प्रचण्डले दिएको महत्व र स्थान नै हो।
एउटा मेडिकल व्यावसायीलाई उसको सीमा र दायराभन्दा माथि राखेर जुन महत्व दिए ओली–प्रचण्डले त्यसको उपजमा अहिले प्रसाईं उफ्रिरहेका छन्। यीनले अहिले राजा ज्ञानेन्द्र शाहलाई बोकेको भनिरहेका छन्। तर, यी राजाका लागि पनि भष्मासुर साबित हुनेछन् या के हुन्छन् त्यो अबका दिनले देखाउला।
जसरी आफ्नो उपयोगका लागि महादेवले भष्मासुरलाई शक्ति दिए, त्यहि शक्ति महादेवका लागि कालजस्तो साबित हुने स्थिति आयो। अनि, उनले ज्यान जोगाउनका लागि विष्णुको साहरा लिन परेको ग्रान्थीय कथा ओली–प्रचण्डसँग मिल्न जान्छ।
आफैंले उदय गराएका उही भष्मासुर प्रवृत्तिका प्रसाईंको अभियानसँग लड्न १२ बुँदे समझदारी, शान्ति सम्झौता गरेका दलहरूबीच यो व्यवस्था सुदृढिकरण गर्ने र जोगाउने सहमतिको निर्णय भयो।
यो, भष्मासुरसँगको त्राहीमाम हो, यस्तो प्रवृत्तिलाई विष्णु अवतारका रुपमा जोगाउन सक्ने ताकत नेपाली कांग्रेसले राख्ला त? या अन्य दलको पनि सहायता चाहिएला? भन्ने प्रश्न बाँकी रहेन। त्राहीमाम ओली–प्रचण्डले सहारा मागिसके, सर्वदलीय बैठकका नाममा।
राजनीतिक व्यक्ति, सोच र आलोचनालाई सुन्न नसक्ने, त्यसबाट सुधारको बाटोतिर लम्किन नसक्ने, आन्तरिक पार्टी जीवनमा लोकतान्त्रिक प्रणालीलाई स्वीकार गर्न नसक्ने तर लोकतान्त्रिक गणतन्त्रको रटान मात्र लगाउने ओली–प्रचण्डका लागि उनका अराजनीतिक क्रिडाबाट उदय भएका दुर्गा प्रसाईंहरू चुनौती बन्नुपर्छ।
यत्रो आन्दोलनबाट उदाएको व्यवस्था, टुटफुट र सबै शक्ति बिरोधमा हुँदा पनि संगठनका कार्यकर्ताले जोगाइदिएको पार्टीको वास्ता नगरी कम्पनी जस्तो चलाउने शैली अनि प्रसाईंहरूको रजगज गराउन थालेपछि परिणाम के हुन्छ त?
अन्त्यमा,
प्रसाईंको राजनीतिक वा अराजनीतिक नीति हेर्ने हो भने उनी अवसरवादी स्थितिबाट यहाँसम्मको यात्रा तय गरेका एक विवादीत व्यापारी हुन्। उनका आर्थिक र बित्तिय कारोबार अथवा त्यसका समस्या र लडाई के छन् त्योसित सरोकार भएन। राजनीतिक बाटोलाई हेर्ने हो भने कांग्रेसमा रहेर कुनै मौका हासिल नभएपछि माओवादीमा लागेको तथ्य उनले नकार्दैनन्।
माओवादीबाट ससुरालीसँग लिनुपर्ने सम्पत्तीमाथिको कब्जा एउटा उपयोग, मेडिकल कलेजको सम्बन्धन नपाएपछि साधगी डा. गोविन्द केसीको मृत्युको कामना गर्ने अमानवीय सोच राख्ने प्रसाईंलाई ओलीले बोक्नु नै गलत थियो।
एमालेबाट टिकट नपाएको र सम्बन्धन पनि नपाएको झोंकमा अहिले महाअभियानका नाममा राजा ज्ञानेन्द्र शाह र हिन्दूत्वको सवाल उठाइरहेका छन्। यसबाट पनि निजी नाफा भएन भने, प्रसाईं बिस्तारै रवि लामिछानेकृत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अथवा पृथकतावादी नयाँ ढाँचामा जान सक्छन् भन्ने स्वभाविक आँकलन गर्न सकिन्छ।