Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रभावशाली महिला

विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी नेपालकी रुक्शाना कपाली को हुन्?

मंगलबार, मंसिर ५, २०८०

काठमाडौंविश्वका विभिन्न देशका सय जना प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शाना कपाली परेकी छन् ।

बीबीसीले छानेका सय प्रभावशाली महिलामा परेकी उनी नेवा समुदायकी सदस्य तथा पारलैङ्गिक मानवाधिकारकर्मी हुन्। आफू हुर्किँदै गर्दा उनलाई आफ्नो पहिचानबारे यथेष्ट जानकारी थिएन।

बीबीसीले गरेको छोटो ब्याख्याअनुसार उनले लैङ्गिक विविधता र यौनिकताबारे स्वाध्ययन गरिन्। किशोरावस्थादेखि नै उनी तेस्रोलिङ्गीसँग सम्बद्ध विषयमा सामाजिक सञ्जालमा पैरवी गर्दै आएकी छन्।

उनी अहिले कानुन विषय लिएर स्नातक तहमा अध्ययन गरिरहेकी छन्। उनी नेपालमा एलजीबीटीआईक्यू+ समुदायका मानिसको कानुनी र संवैधानिक अधिकारको पक्षमा सक्रिय छिन्।

उनी नेवा समुदायमा पनि निकै सीमान्तकृत मानिने जुगि जातिकी सदस्य हुन्। उनी जुगि जातिका मानिसहरूलाई उनीहरू बस्दै आएको घरबाट बलपूर्वक निकालिने कार्यविरुद्ध सङ्घर्ष गरिरहेकी छन्।

ruksana-kapali_bbc-photo2-1700573809.jpg

तस्बिरः बीबीसी 

पारलैङ्गिक महिला भन्नाले महिला लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ।

पारलैङ्गिक महिलाहरू जन्मदाँ पुलिङ्गी इङ्गित गरिएका हुन्छन्। शिश्न लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटा वा बालक भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटी वा महिलाको गुण विकास हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन्।

सन् २०१८ मा उनलाई त्रिभुवन विश्वविद्यालयले पारलैङ्गिक महिला भएका कारणले रजिष्ट्रेशन दिनबाट इन्कार गरेको थियो। सामाजिक संजालमा ह्यासट्याग ट्रान्सएक्सक्लुजनिस्टटीयु आन्दोलन पनि भएको थियो।

त्यसै गरी सन् २०२२ मा उनलाई फेरि पूर्वाञ्चल विश्वविद्यालयले रजिष्ट्रेशनका साथै परीक्षा प्रवेश पत्रबाट पनि इन्कार गरेको थियो। ५ वर्षे बिएएलएलबि प्रथम वर्ष अध्ययनरत उनलाई परीक्षाको मुखैमा प्रवेश पत्रबाट इन्कार गरिएको थियो।

विश्वविद्यालयले परीक्षाबाट वञ्चित गराउने भएपछी सामाजिक संजालमा ह्यासट्याग आन्दोलन ट्रेन्डिङ भएको थियो। व्यापक दबाब पश्चात् रजिष्ट्रेशन नम्बर बिनाको परीक्षा प्रवेश पत्र दिइएको थियो । रुक्शनाको एसएलसी प्रमाणपत्र लैङ्गिक पहिचान अनुसार संशोधन हुन नसक्दा र एसएलसी प्रमाणपत्र संशोधन गर्ने कुनै कानूनी व्यवस्था नभएका कारण यो समस्या निम्तेको उल्लेख छ।

सय प्रभावशालीमा परेकी उनीसँगै मानवअधिकार मामिलाकी वकिल अमाल क्लूनी, हलिउड अभिनेत्री अमेरिका फरेरा, अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामा, ब्युटी बिजनेस सुरु गर्ने हुडा कातान र बलेन डिओर उपाधि जित्ने फुटबलर ऐताना भनमतिसमेत परेका छन्।

यस वर्षको सूचीमा जलवायु परिवर्तनको सामना गरेका आफ्नो समुदायलाई सहयोग गर्ने र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि काम गर्ने महिला पनि परेका छन्।

बीबीसीले युनाइटेड नेसन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स, कोप२८ अगाडि जलवायु संरक्षणमा काम गर्ने २८ महिलालाई सूचीमा समेटेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्