तिनकुनेमा युवासंघको मशाल जुलुस प्रदर्शन
काठमाडौँ– नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौँको तिनकुनेमा मशाल जुलुस प्रदर्शन गरेका छन् ।
एमालेका नेता तथा युवा संघको इन्चार्जसमेत रहेका महेश बस्नेतको नेतृत्वमा आज साँझ तिनकुनेमा मशाल जुलुस प्रदर्शन गरेका हुन् ।
मशाल जुलुसमा सहभागीहरुले सरकारबिरोधी नारा लगाएका थिए । भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध भन्दै युवा संघले प्रदर्शन गरेको हो । प्रदर्शनका कारण केहिबेर तीनकुने क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो । भेलामा बस्नेतले प्रदर्शनलाई शसक्त बनाउन निर्देशन दिएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र युवा संघले एकै दिन (आगामी मंसिर ७ गते) माइतीघर मण्डला क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरे प्रदर्शनको कार्यक्रम राखेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई आजै बेलुका छलफल गरेको छ ।
प्रशासनले दुवै पक्षसँग छलफल गरी कार्यक्रम गर्ने स्थान तोकेपछि उनीहरुले तिनकुनेमा मशाल जुलुस प्रदर्शन गरेका हुन् ।
युवा संघले ‘सरकार र अराजकतावादीविरूद्ध युवा–विद्यार्थीको शक्ति प्रदर्शन’ कार्यक्रम राखेको छ। यस्तै, प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ भन्दै कार्यक्रम गर्न लागेका छन्।
सुरक्षा निकायले प्रसाईँको आन्दोलनसँगै युवा संघको कार्यक्रमले झडपको स्थिति ल्याउन सक्ने आकलन गरेको छ ।