Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामाजिक सद्भाव कायम राख्दै ऐतिहासिक परिवर्तनको रक्षा गर्न आह्वान

मंगलबार, मंसिर ५, २०८०

काठमाडौँ– नेपालका आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले सामाजिक सद्भाव कायम राख्दै ऐतिहासिक परिवर्तनको रक्षा गर्न आह्वान गरेका छन् । 

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आह्वान गर्दै यसका विरुद्ध भइरहेका अवान्छित गितिविधिमाथि रोक लगाउन माग गरेका हुन् । 

नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त उपलब्धि भत्काउन पछिल्लो समय केही देशी विदेशी शक्तिहरू लागिपरेको भन्दै उनीहरूले संघर्षपूर्ण उपलब्धिको रक्षाका निम्ति समयमा सचेतपूर्ण ढंगले लाग्न सबैलाई आग्रह समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले पहिचान राष्ट्रिय संघर्ष समिति गठन गरेर प्रदेशस्तरीय कार्यक्रम गरिने बताए । जसअन्तर्गत पहिलो चरणमा मगरात–थरुहटको संयुक्त आयोजनामा आगामी मंसिर २३ गते दाङमा र तामाङ घेदुङ र नेवा देय दबूको संयुक्त आयोजनामा आगामी मंसिर ३० गते काठमाडौंमा बृहत् सभाको आयोजना गरिने उनले जानकारी दिए ।

उनले स्थानीय समुदायसँग सहमति नलिई काठमाडौंको बोझेनीमा लप्सीफेदी चाँगुनारायण सवस्टेशन निर्माण गर्ने नाममा प्रहरी प्रशासनबाट शृङ्खलाबद्ध रुपमा बल प्रयोग, दमन, धरपकड र गिरफ्तारी जस्ता अमानवीय कार्य भएकाले त्यस्ता कार्य तत्काल रोकी वार्ता र संवादको माध्यमबाट उचित निकास खोज्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले गणतन्त्रमाथि कसैले धावा बोल्न नपाइने भन्दै रगतको बलिदानी दिएर ल्याएको परिवर्तन भत्काउने कार्यका विरुद्ध आदिवासी जनजाति सम्बद्ध शक्तिहरू एकजुट भएको बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्