Nic Ad Nic Ad
Nic Ad Nic Ad

जाजरकोटमा चिसोले एक महिने बालिकासहित ११ भूकम्पपीडितको को मृत्यु

बुधबार, मंसिर ६, २०८०

जाजरकोट - जाजरकोटका विभिन्न स्थानमा भूकम्पले घर भत्किएपछि चिसो थेक्न नसकेर दुई हप्तामा एकमहिने बालिकासहित ११ जना भूकम्पपीडितको मृत्यु भएको छ।त्रिपालमुनिको बसाइ र लेकको अत्यधिक चिसोमा राहतबाट पाएको एकसरो कपडाको भरमा दिनरात बिताएका भेरी नगरपालिका २ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुता पुनको सोमबार जाजरकोट अस्पतालमा मृत्यु भएको थियो।

गत कार्तिक १७ गतेको भुईंचालोले घर क्षतिग्रस्त बनाएपछि त्रिपालमुनिको बसाइका कारण निमोनिया भएपछि जाजरकोट अस्पातलमा ल्याइएका ती बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, जुनीचाँदे गाँउपालिकाका लेकाली भेगका बस्तीमा त्रिपालमुनिको बसाइमा पर्याप्त मात्रामा कपडा नभएपछि आगोको भरमा रात बिताएका बालबालिकाका साथै फोक्सो, मुटु, दमलगायतका दीर्घरोगीहरू अध्यधिक चिसोको कारण मृत्युवरण गर्न बाध्य छन्। अत्यधिक चिसोका कारण एक हप्ताअघि सात जना दीर्घरोगीको मृत्यु भइसकेको छ भने त्यसयता पनि बारेकोट गाउँपालिका १ बयालाका ६० वर्षीय कर्णबीर बिक, बारेकोट गाउँपालिका ६ ताँसीका ५५ वर्षीय बीरबहादुर विक, भेरी नगरपालिका ४ का केशव भडेल मृत्यु भएको भेरी नगरपालिका २ का पूर्व वडाअध्यक्ष कालीबहादुर वलीले बताए।

नलगाड नगरपालिकाका प्रमुख डम्वरबहादुर रावतका अनुसार कार्तिक १७ गतेदेखि आरामसँग सुत्न र खान नपाएपछि विभिन्न रोगले ग्रसित भएर दैनिक एक सयभन्दा बढी बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेको छ । भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई खानाभन्दा सुत्नको चिन्ताले सताउने गरेको छ । नियामित औषधि खाने दीर्घरोगीले औषधि खान नपाएपछि झनै रोगले ग्रसित बन्न पुगेका छन् ।

जिल्लाबाट आएको राहत सामग्री परिवारलाई एक थानका दरले वितरण गरे पनि त्यतिले चिसो छेक्न नसक्ने भएपछि भूकम्पपीडितहरू धमाधम बिरामी पर्न थालेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीको भनाइ छ । बारेकोट गाँउपालिका १ रामीडाँडा, सिल्पाचौर, वडानम्बर २ को मुल्साम, पारामुल्साम भेरी नगरपालिका २ रिसाङ्ग, वाहुनथाना, तिमिले, राङ्सी र कुशे गाउँपालिकाका ९ वटै वडामा अत्यधिक चिसो हुन्छ । त्यहाँ साँझ पर्न साथ चिसो सिरेटो चल्न हुन्छ, एक सरो लत्ताकपडाले चिसो छल्ने अवस्था छैन ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्