‘नेपाली तालिवान’ प्रसाईंको भव्य उदयमा भयभित सत्ता, त्रसित प्रतिपक्ष!
काठमाडौं– राष्ट्रियता धर्म बचाऊ तथा राजसंस्था स्थापनाका लागि नागरिक महाअभियान नाम दिएर विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंले उद्घोष गरेको काठमाडौं प्रदर्शनको कार्यक्रम र त्यसको प्रतिरोधमा उत्रिएको एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका गतिविधि अहिले केन्द्रविन्दुमा छन्।
ऋणले थिचिएका, मिचिएका र पीडित भएका व्यक्ति प्रसाईंको आह्वानमा काठमाडौं छिरेका छन्। उनीहरूसँग प्रसाईंको उदयमा ऋण तिर्न नपर्ने आशाको त्यान्द्रो छ। त्यसका लागि विभिन्न दल चहारेका प्रसाईं अहिले राजा ज्ञानेन्द्रको पुनस्थापना र गणतन्त्रको विदाईको नारालाई क्याँस गरिरहेका छन्।
प्रसाईंको बिख्याती बढ्दै जाँदा सत्ता गठबन्धन भयभित भयो। उसले सामाजिक सञ्जालमार्फत प्रसाईंको बिख्याती बढेको ठहर गरी ‘टिकटक’मा प्रतिबन्ध लगायो। तर, अन्य सामाजिक सञ्जालका फोरममा प्रसाईंका आक्रामक अभिव्यक्ति रोकिएका छैनन्। विहीबारका लागि काठमाडौंमा उनले बृहत् प्रदर्शनको घोषणा गरेपछि शितलनिवास, बालुवाटारदेखि सरकारका उच्च पदस्तका निवासअगाडि निषेधाज्ञा लगाएको छ भने मुख्य सहरमा पनि ५ जना भन्दा बढी भेला हुन नपाइने उर्दी जारी गरेको छ।
उता त्रसित भएको मुख्य प्रतिपक्ष नेकपा एमाले त प्रसाईको अभियानसँग भिडन्तमा नै उत्रिने स्थितिमा पुगेको छ। उसले पनि बिहीबार नै कार्यक्रम राखेको छ। प्रसार्ईंको अभियानमा सहभागी हुन आएका महिलालगायतलाई काठमाडौंको चाबहलिस्थित पार्टी प्यालेसबाट राष्ट्रिय युवा संघका नाममा लखेटिएको भिडिओ अहिले छ्यापछ्याप्ती भएको छ। युवा संघले यस्तो गतिविधि नकारे पनि सामाजिक सञ्जालमा उसको विरोध र यसका इञ्चार्ज महेश बस्नेतको हुर्मत लिने काम पनि भइरहेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले पनि प्रसाईंको अभियानको खण्डन गर्नुको अर्थ त्रसित मानसिकता रहेको टिप्पणी हुन थालेका छन्। प्रसाईंको अभियानका अगाडि राजसंस्थाको सैद्धान्तिक मान्यता बोकेको राप्रपा पनि ओझेलमा परेको छ।
एक अर्थमा प्रसाईंको भव्य उदय अफगानिस्तानमा तालिबानले गरे जस्तो छ। तालिवानसँग हतियार थियो तर प्रसाईं निहत्था नै छोटो समयमा चर्चाको केन्द्रमा पुगे। जसलाई ‘नेपाली तालिबान’को संज्ञा दिन थालिएको हो।
कतिपय गतिविधिले जसरी तालिवानले अफगानिस्तानको केन्द्रीय सत्ता कब्जा गरेको थियो, प्रसाईंको अभियान पनि सोही शैलीमा बढ्ने स्थितिको आँकलन गरिएको छ। सरकारको भयभित मानसिकता र प्रतिपक्षको त्रसित प्रतिरोध यसका उदाहरण मान्न सकिन्छ।
अफगानिस्तानका ३ सय ७० जिल्लामध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको तालिवान जस्तै प्रसाईंको लोकप्रियता पनि राजधानीबाहेकका प्रत्येक जिल्लामा हुन थालेको छ।
जसरी सन् १९९० को दशकमा अफगानिस्तानबाट सोभियत संघको सेना फिर्ता भएसँगै एक समूहको जन्म भयो, जसको नाम राखियो–तालिबान। अफगानिस्तान र पाकिस्तानमा फैलिएको पास्तुन क्षेत्रमा तालिवानले आफू सत्तामा आए आफ्नै कडा ‘शारिया’ (मुस्लिम कानुन) लागू गरेर शान्ति र सुरक्षाको पुनस्र्थापना गर्ने आश्वासन दिएर आफ्नो यात्रा सुरु गरेको थियो, प्रसाईं ठ्याक्कै त्यही शैलीमा अगाडि बढेको देखिन्छन्।
अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रबाट द्रुत गतिमा तालिवानले आफ्नो प्रभाव बढाउँदै लग्यो। सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानको सीमासँग जोडिएको हेरात प्रान्तमा कब्जा जमाए। त्यसको एक वर्षपछि तालिवानले सोभियत अतिक्रमणको प्रतिवाद गरेको मुजाहिद्दिन समूहका संस्थापक एवं राष्ट्रपति बुह्रानुद्दिन रब्बानीको सरकारलाई अपदस्थ गर्दै अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमायो। सन् १९९८ सम्ममा तालिबानले अफगानिस्तानको ९० प्रतिशत भूभागमा कब्जा जमाइसकेको थियो।
भ्रष्टाचारको चरम सीमा नाघेको र राजनीतिक बेथिति मौलाएपछि व्यवस्था परिवर्तनकै मागसहित प्रसाईको अभियान अगाडि बढ्दा राज्य र प्रतिपक्षले देखाएका हर्कतले फरक तर अराजक शक्ति तालिबान जसरी नै उदाउन सक्ने सम्भावना बढेको छ।
सरकारले बेलैमा स्थितिलाई नियन्त्रणमा नलिने हो भने प्रसाईंको अराजकतालाई आम साधारणले अनुमोदन गर्न सक्ने सम्भावना रहेको स्पष्ट छ।