Nic Ad Nic Ad
Nic Ad Nic Ad

मध्यरातमा महिला लखेट्नु राजनीतिमा संवेदनाहिन मति, एमालेले व्यहोर्न सक्छ यसको क्षति

बुधबार, मंसिर ६, २०८०

काठमाडौंदुर्गा प्रसाईको महाअभियानका लागि सहभागीता जनाउने महिलाहरूलाई काठमाडौंको चाबहिलको एक पार्टी प्यालेसबाट मध्यरातमा लखेट्ने विनोद राईको परिचय खुलेसँगै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको संलग्नता पुष्टि भएको छ।

युवा संघको सचिवालय सदस्य राईको नेतृत्वको टोलीले महिलालाई उपत्यका छाड्नका लागि दिएको दबाबको सर्वत्र आलोचना भएको छ। नाटकीय शैलीमा एमाले पोलिटब्युरो सदस्य तथा युवा फाँट इञ्चार्ज महेश बस्नेतले बचाऊ गर्दै व्यवस्थापनमा सहजीकरण गरेको बताए पनि तथ्यबाट कोही पनि पर छैनन्।

राई तिनै हुन् जसले यल्लो पगोडा होटलमा प्रसाईंको पत्रकार सम्मेलनका क्रममा कालोमोसो दलेका थिए। यस्ता व्यक्तिलाई युवा संघले कारबाही गर्नुको साटो अर्को वितण्डा मच्चाउनका लागि खटाइनुले एमालेलाई नै बदनामीको बाटोमा लान्छ, अधिकारकर्मीहरू बताउँछन्।

यसले प्रसाईंको अभियानमा अझ मानिसहरूको सहभागीता बढ्ने आँकलन गरिएको छ भने एमालेले आगामी दिनमा यस्ता गतिविधिका कारण क्षति व्यहोर्नुपर्ने पनि प्रक्षेपण गरिएको छ।

लोकतन्त्रमा आफ्नो स्वतन्त्रताको उपयोग गरी जसले जहाँ पनि सहभागीता जनाउन सक्छ। तर, गुन्डागर्दी शैलीमा जसरी मानिसलाई लखेट्ने काम गरिएको छ, यसले नागरिक स्वतन्त्रता, मानव अधिकारको हनन् भएको छ, अधिकारकर्मीहरू भन्छन्,‘त्यहाँमाथि महिला बसेको ठाउँमा गएर लेखट्नु त आततायी काम हो।

महाभारतको युद्धमा पनि घाम डुबेपछि एकअर्कामा आक्रमण गर्ने चलन थिएन। त्यो मानकको ग्रन्थीबाट प्रेरित भएको देशमा राजनीति गर्ने दल एमालेको भ्रातृ संगठन युवा संघले जसरी मध्यरातमा महिलालाई लखेट्ने काम गरेको छ, यसले मानवीयतामाथि प्रहार मात्र गरेको छैन, संवेदनाहिन राजनीतिको पराकाष्ट देखाएको छ।

दलहरूबीच देखिएको जनताको चरम असन्तुष्टिबीच गरिएको यस्तो कार्यले एमाले स्वयमलाई ठूलो क्षति हुने आँकलन गरिएको छ। यति मात्र होइन अब आम मानिसले दलका कार्यकर्तालाई हेर्ने दृष्टिकोणमा दोष पनि समेटिने निश्चित भएको आमसाधारणले नै बताउन थालेका छन्।

यस्ता हर्कत गरिनु राजनीतिमा मतिभ्रष्ट व्यवाहारका रुपमा लिनुपर्छ, मूलधारको र दशकौंदेखि जमिनसम्म जोडिएको पार्टीप्रति जनताको विश्वास पनि गुम्छ, ह्रास हुन्छ, एक जना विश्लेषक भन्छन्,‘दुर्गा प्रसाईं खहरे जस्तो आएको ठानेर शालिन प्रतिक्रिया दिन सकिन्थ्यो तर व्यक्तिगत इगो जस्तो गरी जनतामाथि, त्यसमा पनि महिलामाथि गरिएको व्यवाहारले महेश बस्नेत र एमालेको राजनीतिमा क्षति हुन्छ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्