खै! कता गए बालेन–हर्क, कता गए रवि?
काठमाडौं– महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले प्रणालीबारे टिप्पणी गरेका छन्,‘सबै कुरा सकेसम्म सरल बनाउनुपर्छ। तर, सरल छैन।’
नेपालको संविधान, राजनीतिक व्यवस्था र जनताको अवस्थाबारे घनिभूत रुपमा प्रश्न उठेका छन्। मुख्य दलले स्थापित गरेको बेथितिविरुद्ध उठेका प्रश्नलाई जनताले ब्यालेटमार्फत सांकेतिक उत्तर दिन सुरु गरेका थिए।
०७९ को स्थानीय तहको निर्वाचनमा आएको परिवर्तनले व्यवस्थामाथि भन्दा पनि बेथितिमाथि प्रहार गर्दै काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहलाई अनुमोदन गरेको थियो।
यसैगरी धरान उपमहानगरपालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकामा गोपी हमाललगायतलाई अनुमोदन गरेकै हो। यसबेला जनताको मनोदशा व्यवस्था परिवर्तनका लागि उद्दत थिएन।
प्रतिनिधि सभाको निर्वाचनमा पनि अवस्थालाई बदल्ने जनठाँटको संकेतका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेका रवि लामिछानेलगायतलाई आंशिक अनुमोदन गरिदियो।
सामाजिक सञ्जालको ठूलो तप्का व्यवस्था परिवर्तनको सवालमा भन्दा पनि नयाँ पुस्ता अर्थात् राजनीतिमा नयाँ अनुहारलाई अवसर दिनुपर्छ भन्ने दलीलतिर केन्द्रित भयो।
तर केही सातादेखि एकाएक सामाजिक सञ्जाल होस् वा टोल र गल्ली, व्यवस्था परिवर्तनको सवाल केन्द्रित छ। केन्द्रीय सत्ताको विषयमा एकाएक विवादमा रहेका दुर्गा प्रसाईंको उदय र चर्चा व्यापक भयो। आन्दोलनको एउटा चरण चलिरहेको छ, चर्चा पनि भयो।
मुख्य सवाल हामी अवस्था परिवर्तनका निम्ति पैरवी गरिरहेका छौं कि व्यवस्था परिवर्तन भन्ने उठेको छ। अहिले हर्क साम्पाङ अथवा रवि लामिछानेहरूका राजनीतिक एजेन्डा भन्दा पनि प्रसाईंको हुंकारमा मानिसहरू लागि रहेका छन्।
कतिपयले भन्न थालेका छन्,‘खै कता गए बालेन–हर्क, कता गए रवि!’
सबैभन्दा मूल कुरा संविधानको विषय हो। यो संविधान बचाउने कि संविधानलाई मास्ने र पुरानो नै ठिक भनी आन्दोलन गर्ने? के संविधानको रथ उल्टोतिर घुमाउन सकिन्छ? घुम्न सक्ला? यस विषयमा न लामिछानेले कुनै टिप्पणी गरेका छन्, न साम्पाङहरूले। बस, उनीहरू सामाजिक सञ्जालमा चलेको हावामा बेलुन थापिरहेको छ प्रतीत हुन थालेको छ।
हाम्रो राजनीतिक प्रणालीको आधार भनेको जनताको सरकारको संविधान बनाउन र परिमार्जन गर्ने अधिकार हो। निरन्तर त्यो भइरहेको छ। कुशासनबाट माथि उक्लिने सवाल हो, त्यो हुन बाँकी छ। तर, व्यवस्था परिवर्तन प्रश्न हो कि होइन?
अवश्य पनि आम मानिस सडकमा उत्रिएर व्यवस्थाको खिलाफमा नारा गरिरहेको छ भने यो निर्विकल्प प्रश्न हो। एक जना मात्रै नागरिक पनि कालो झन्डा लिएर व्यवस्थामाथि प्रश्न गर्छ भने राज्यले त्यसको निराकरण गर्नका लागि सम्बन्धित समाधानको उपाय जस्तै जनमत संग्रहलगायतका विषय उठान गर्नुपर्छ, लोकतन्त्रले दिने अधिकारको अहम् हिस्सा हो यो।
अहिले भइरहेका कतिपय गतिविधिलाई इंगित गरेर काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एउटा स्ट्याटस त शेयर गरेका छन्। उनले लेखेका छन्,‘यो देशमा सबैलाई राजा बन्न मन लाग्यो, राष्ट्रपती बन्न मन लाग्यो, प्रधानमन्त्री बन्न मन लाग्यो, नेता बन्न मन लाग्यो, देशलाई मान्छे चाहिएको छ, मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस, मान्छे बनौँ पहिला, अरु त, जनताले बनाई हाल्छ नी!’
जब राजनीतिक प्रणाली लयहिन गतिमा हुन्छ अहिलेको जस्तो अव्यवस्था त पक्कै पनि देखिन्छ।
राजनीतिक प्रणालीले औपचारिक कानूनी संस्थाहरूको सेट जसले “सरकार“ वा “राज्य“ गठन गर्दछ। यो उन्नत राजनीतिक आदेशको कानूनी वा संवैधानिक व्यवस्थाको धेरै अध्ययन द्वारा अपनाईएको परिभाषा हो। अझ व्यापक रूपमा राज्यको कानूनी संगठन मात्र होइन तर राज्यले कसरी काम गर्छ भन्ने व्यवहारको वास्तविक र निर्धारित रूपहरू बुझाउँछ।
राजनीतिक प्रणालीलाई “अन्तरक्रियाको प्रक्रिया’’को एक सेटको रूपमा वा आर्थिक प्रणाली जस्ता अन्य गैर–राजनीतिक उपप्रणालीहरूसँग अन्तरक्रिया गर्ने सामाजिक प्रणालीको उपप्रणालीको रूपमा हेरिन्छ। यसले अनौपचारिक सामाजिक राजनीतिक प्रक्रियाहरूको महत्वलाई औंल्याउँछ र राजनीतिक विकासको अध्ययनलाई जोड दिन्छ।
तर अहिलेको सरकार भनौं या यो प्रणालीको स्थापना गर्नेले असन्तुष्ट वा संविधानको विपक्षसँग कुनै प्रकारको अन्तरक्रिया गरेको थियो त? या गर्ने चेष्टा पनि देखायो? देखाएन। यसकारण प्रणालीभन्दा बाहिरबाट आउने आवाजले सम्बोधनको अर्थ खोजीरहेको छ। यस्तो सम्बोधनका लागि राजनीतिमा उदाएका नवीन अनुहारले पहल गर्नुपर्ने हो कि तर्क वितर्क?
बितर्कको अर्थ हुँदैन। दुर्गा प्रसाईं यो प्रणालीभन्दा बाहिरको एजेन्डामा किन हिँडिरहेका छन्?यीनलाई यहि संस्थागत संरचनामा सुधार गरी अगाडि बढ्न सकिन्छ भन्ने बहस अथवा गोलमेचमा विकल्पका रुपमा उदाएका रास्वपा, बालेन या हर्कलगायतले बोलाउन किन सकिरहेका छैनन्? अथवा चाहेका छैनन्?
अहिलेको ताजा एजेन्डा भनेको लाखौं मानिस श्रमका लागि विदेशिनु, गरिबलाई ऋणको पासोमा राखिनु मात्र होइन, अध्ययनका नाममा सृजनशील युवा युरोप अमेरिकातिर घर्किनु बनेको छ। देशमा भएका उद्योग कल कारखाना बन्द हुनु, उत्पादन नहुनु, उत्पादनको बजार नहुनुको नैराश्यताले प्रणालीमाथि प्रश्न गर्दछ।
यहि प्रश्न गिजोलिने क्रममा अवस्थासँगै व्यवस्थाको सवाल स्वभाविक रुपमा उठ्छ, त्यसको मध्यस्तता दुर्गा प्रसाईले गरेको प्रतीत हुँदैन र? यसर्थ, यहि व्यवस्थाको निर्वाचन प्रणालीमा छिरेर जनताको प्रतिनिधि बनेका नयाँ सोचहरूले आशाका धारणाहरू निर्माण गर्न चुक्न हुन्न। चाहे ति बालेन साह, हर्क साम्पाङ, गोपी हमाल वा रवि लामिछानेका नाममा भएका उदय हुन्। त्यसैले यस्तो स्थिति, बेथितिका बेला विकल्पमा उदाएका नयाँ सोचको खोजी स्वभाविक रुपमा हुने गरेको पाइन्छ।