Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिसोका कारण १३ भूकम्पपीडितले ज्यान गुमाए

शनिबार, मंसिर ९, २०८०

काठमाडाैं - चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा १३ जनाले ज्यान गुमाएका छन्। १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि पुगेका भूकम्पपीडित मंसिरको चिसोका कारण झन् समस्यामा परेका हुन् ।

सम्बन्धित स्थानीय तहबाट प्राप्त तथ्यांकअनुसार हालसम्म जाजरकोटमा ११ र रुकुम पश्चिममा दुईजनाले ज्यान गुमाएका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ११ का ८० वर्षीया पद्मी ओली र ७० वर्षीय दत्ते कामीको मृत्यु भएको वडाध्यक्ष प्रेमबहादुर पुनले पुष्टि गरे । पद्मीको ५ मंसिर र दत्तेको ३० कात्तिकमा मृत्यु भए पनि ढिलो गरी घटना सार्वजनिक भएको हो ।

वडाध्यक्ष पुनका अनुसार ज्यान गुमाउने दुवै दमका रोगी हुन् । ‘न्यानोमा बस्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरू मंसिरको चिसोमा पालमुनि बस्नुपर्दा समस्यामा पर्नुभएको छ,’ उनले भने, ‘अहिलेसम्म दुईजनाको ज्यान गइसक्यो । वडामा धेरै व्यक्ति बिरामी छन् ।’

चिसोका कारण जाजरकोटमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीया पम्फा रावल तथा कुशे गाउँपालिका– ५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षका गथु शाहीको ज्यान गएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्