आज कोशी सरकारले बजेट प्रतिस्थापन विधेयक पेश गर्दै
विराटनगर - कोशी प्रदेश सभाको बैठक आज बस्दैछ।आज दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी छ।
प्रदेश सभा सचिवालयका अनुसार सरकारले विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुन लागेको हो ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए। अध्यादेशको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेटको प्रतिस्थापन विधेयक पेश नभएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले २४ भदौमा पुन: प्रतिस्थापन विधेयक ल्याएका थिए ।
नयाँ मुख्यमन्त्री केदार कार्कीले अध्यादेशबाट आएको बजेटभन्दा आकार बढ्ने गरी प्रतिस्थापन विधेयक पेश गर्न लागेका हुन्। विधेयकमा भौतिक पूर्वाधारको क्षेत्रमा २५ लाखभन्दा मुनिका नयाँ आयोजना नराख्ने सरकारले बताएको छ।