नेभिगेशन
समाचार

दुर्गा प्रसाईं समूहले भक्तपुरमा गर्ने भनिएको प्रदर्शन स्थगित

काठमाडौं - दुर्गा प्रसाई नेतृत्वको समूहले भक्तपुरमा आज गर्ने भनिएकाे विरोध प्रदर्शन स्थगित भएको छ। बल्खु, तीनकुने र हिजो सिफल क्षेत्रमा प्रदर्शन गरेका मेडिकल व्यवसायी प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने भनिएको कार्यक्रम स्थगित भएको हाे।

सूचना जारी गर्दै अभियानले आज बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजीमल, रत्नपार्कमा एकैपटक विरोधस्वरुप सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ। तर, प्रसाईको कार्यक्रम भक्तपुरबाट काठमाडौंमा सरेको बारे जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी छैन।

भक्तपुरमा कार्यक्रम राखेको जानकारी भए पनि स्थगित भएको र काठमाडौंको विभिन्न स्थानमा रहेको अभियानको कार्यक्रमबारे जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिए।  कानून विपरित प्रदर्शनमा उत्रिए सोही अनुसार कडा रुपमा प्रस्तुत हुने स्थानीय प्रशासनको तयारी छ।

गत शुक्रबारपनि अभियानले प्रशासनसँगको समन्वयविना तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि प्रहरीले धमाधम प्रदर्शनकारीलाई पक्राउ गरेको थियो। हिजो सिफलमा भएको प्रर्दशनमा भने प्रसाईले सम्बोधन गर्ने क्रममा काठमाडौं बासीले सहयोग नगरेको गुनासो गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार