Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. गोविन्द केसीको माग

आइतबार, मंसिर १०, २०८०

काठमाडौं - डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन्। बस्नेतले स्वास्थ्य मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेदेखि नै मेडिकल माफियाका पक्षमा लबिङ गरिरहेको भन्दै डा केसीले उनलाई बर्खास्त गर्न माग गरेका हुन्।

मन्त्री बस्नेतले आफूमाथि लाञ्छना लगाएको विषयमा ध्यानाकर्षण भएको भन्दै डा.केसीले विज्ञप्ति जारी गर्ने क्रममा मन्त्री बस्नेतलाई बर्खास्त गर्न माग गरेका हुन्।

उनले भनेका छन्, ‘हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु।’

स्वास्थ्य मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव नभएको बताउँदै डा केसीले जान्ने प्रयास समेत नगरेको बताएका छन्।

‘ठूला मुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवाले स्वास्थ्य मन्त्रालय जस्तो सम्वेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दैछन्। यो राजनीतिक तथा सामाजिक अपराध हो,’ उनको आरोप छ।

उनले सरकारलाई लाञ्छना लगाउनुभन्दा छानबिन आयोग गठन गर्न चुनौती दिँदै आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

स्वास्थ्य मन्त्री बस्नेतले शनिवार एक कार्यक्रममा बाेल्दै डा.केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाएका थिए। साथै, उनले केसीकाे अभियानको बचाउमा लाग्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिएका थिए।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्