Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिकटकले सामाजिक प्रदुषण फैलियो : प्रधानमन्त्री

शुक्रबार, मंसिर १५, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनको एकमुष्ट जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले टिकटकका कारण नेपाली समाजमा प्रविधिगत प्रदूषण बढ्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको बताएका हुन् ।

लिखित जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘टिकटकको सकारात्मकका साथै नकारात्मक प्रयोग पनि भइरहेको देखिएकाले यो सामाजिक रोग तथा महामारीका रुपमा फैलिंदै गई प्रविधिगत प्रदूषण बढ्दै गएको हुँदा यसका समग्र नकारात्मक पक्षबाट समाज तथा समग्र राष्ट्रलाई नै सुरक्षित गरी बहुसंख्यक नागरिकको हित संरक्षण गर्ने अभिप्रायले यसको प्रयोगमा रोक लगाउने गरी निर्णय भएको हो ।’

प्रधानमन्त्री प्रचण्डले टिकटकबाट नेपाली समाजमा सद्भाव विथोलेको, घृणा फैलाएको, सामाजिक सहिष्णुतामा आँच आउने अभिव्यक्तिहरु आएको, अश्लील सामग्री शेयर गरेर फैलाउने क्रम बढेको दाबी गरेका छन् ।

‘टिकटकले उल्लेखित विकृतिहरु सिर्जना गरेकाले यसलाई तत्काल नरोके निकट भविष्यमा सामाजिक रुपमा भयावह स्थिति आउन सक्ने हुँदा तत्कालीन र दूरगामी दुवै असरलाई विश्लेषण गरी टिकटकको प्रयोगलाई प्रतिबन्ध लगाउने गरी गरिएको निर्णयलाई अन्यथा भन्न मिल्दैन’ लिखित जवाफमा प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्दै गतिशील समाज बनाउनु सरकार, न्यायपालिका लगायत सबै निकायको कर्तव्य हुने भन्दै उनले रिट निवेदन खारेज गरिदिन आग्रह गरेका छन् ।

टिकटकलाई तत्काल रोक लगाउने गरी निर्णय भएपछि त्यो दीर्घकालीन नभएको प्रधानमन्त्री प्रचण्डले संकेत गरेका छन् ।
गत २७ कात्तिकमा सरकारले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको थियो । निर्णयलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सम्बन्ध, पारिवारिक सम्बन्ध लगायतमा समस्या भएको भन्दै टिकटक प्रतिबन्ध लगाइएको बताएकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्