काँग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापति र महासमिति सदस्यका लागि निर्वाचन हुने
काठमाडौँ - नेपाली काँग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापति र महासमिति सदस्यका लागि निर्वाचन हुने भएको छ ।
क्षेत्रीय सभापतिका लागि साधु भनेर चिनिने शिवशङ्कर कुमार गोइत, नवीनकुमार गोहिवार र भूपनारायण यादव उम्मेदवार छन् । साधु संस्थापन पक्षका छन् । तर, शेखर कोइराला समूहबाटै नवीन र भूपनारायण मैदानमा उत्रिएका छन् ।
साधुलाई पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य मुक्ता यादव र पुराना नेता आनन्द ढुङ्गानाको समर्थन छ । सोही क्षेत्रमा पर्ने हंसपुर नगरपालिकाका मेयर प्रदीप यादव र कमला नगरपालिकाका मेयर विशेश्वर यादव पनि साधुकै पक्षमा खुलेका छन् ।
नवीनलाई पूर्वसांसद दिनेश प्रसैलाले मैदानमा उतारेको स्रोतको दाबी छ । उनलाई जसरी पनि जिताउन पूर्वसांसद प्रसैला भोट माग्दै हिँडेका छन् ।
क्षेत्र नम्बर २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव भूपनारायणलाई जिताउन माहोल बनाइरहेका छन् । पूर्वसांसद शिवधारी यादव पनि भूपनारायणको पक्षमा खुलेका छन् ।
पार्टीको क्षेत्रीय निर्वाचनमा पनि गुट उपगुट सक्रिय बनेको छ । उम्मेदवारहरुभन्दा पनि केन्द्रीय नेताहरुले आआफ्ना पक्षका नेतालाई क्षेत्रीय सभापति बनाउन घरदैलो गरिरहेका छन् ।
अहिलेको अवस्थामा साधु बलिया उम्मेदवार देखिन्छन् । दुई स्थानीय तहका मेयरसमेत सक्रिय बनेपछि साधुले क्षेत्रीयp सभापतिमा बाजी मार्ने सम्भावना बढेको सो क्षेत्रका एक काँग्रेस नेताले बताए ।
उनले भने, साधु बलियो देखिए पनि नवीन र भूपनारायण पनि कमजोर छैनन् । यहाँ कडै प्रतिस्पर्धा हुन्छ ।’
यस्तै सात महासमिति सदस्यका लागि पनि मतदान हुनेछ । जसमा ५ जना प्रत्यक्ष र २ जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।
महासमिति सदस्यका लागि प्रत्यक्षतर्फ दिनेशप्रसाद प्रसैला, विशेश्वर यादव, भोला चौधरी, महेशशंकर गिरी, राजदेव यादव, राजेश्वर गोइत, शिवधारी यादव र सुधीर गोइत उम्मेदवार छन् ।
यस्तै समानुपातिकतर्फ २ जनाका लागि उत्तीमप्रसाद मण्डल, रामचन्द्र मण्डल र शत्रुधन यादव उम्मेदवार छन् ।
धनुषा क्षेत्र २ मा औरही गाउँपालिका, शहिद नगरपालिका, विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिकाका ४ वटा वडा र जनकपुरधाम उपमहानगरपालिकाका २ वटा वडा पर्छन् ।
निर्वाचन तालिकाअनुसार शनिबार क्षेत्रीय सभापति र महासमिति सदस्यका लागि मतदान हुनेछ । ८२२ क्षेत्रीय प्रतिनिधिलाई मतदाता कायम गरिएको छ ।