अहिलेको व्यवस्था कायम रहिरहे नयाँ तानाशाह जन्मिन्छ : कमल थापा
काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।
अहिलेकै व्यवस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था, हिन्दु राष्ट्र पक्षधर र सङ्घीयता नचाहने बीच तत्काल मोर्चा निर्माण गरी नयाँ जनआन्दोलनमा जान जरुरी भएको आवश्यकता औँल्याए ।
थापाले संवैधानिक अङ्ग, न्यायालय, प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमायर सर्वसत्तावाद लाद्ने दुष्प्रयास भइरहेको भन्दै उनले त्यसको प्रतिवाद हुनुपर्नेमा जोड दिए ।
असक्षम, असफल र अदुररदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधीनको रक्षाको निमित्त एक पटक सबै सडकमा आउनु पर्ने समय आएको समेत बताए । उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।
राप्रपा नेपाल काठमाडौँ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेताहरू जयकुमार खड्का, तारानाथ लुइँटेल, इन्द्र चित्रकार, राजाराम बर्तौला, श्याम घिमिरे लगायतले सङ्गठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए ।