मसँग जोडिएको माइग्रेनको त्यो नाता, मृत्युवरण गरेको त्यो दिन!
- नेत्रबहादुर शाही
यस पटक मलाई विवाहको सिलसिलामा काठमाडौं बाहिर जाने अवसर मिल्यो २०७८/१०/२१ गते शुक्रबार मेरो जेठानको छोराको विवाहमा धनगढी श्रीमतीसहित।
धनगढी सुदूरपश्तिमको बसाईसराई भएको महत्वपूर्ण ठाउँ हो जहाँ नौवटै जिल्लाका मान्छेहरू सरोबर छन्।
सबै नातेदार र इष्टमित्रहरू धनगढीमा नै थुप्रिएका हुनाले सबैसँग भेट हुन्छ भन्ने लागि रहेको थियो। हामी काठमाडौंबाट अन्तिम फ्लाइटमा गएकाले विवाह घरमा पुग्दा साँझको सात बजिसकेको थियो।
विवाह घर हो थोरबहुत रमाइलो हुने नै भयो। खानपान चलिरहेको थियो, म भने खानामा सरिक भए पिउनका लागि अगाडि बढिँन।
बिहान गाइँगुइँ सुने आज “हल्दी” को कार्यक्रम छ सबै सहभागीले पहेँलो लुगा लगाउनुपर्छ। म काठमाडौंबाट तयारीमा न आएकोले मैले पनि पहेँलो कुर्ता खरिद गर्ने सुर कसें।
निकै हल्ली खल्ली चल्यो धनगढीका दोकानहरुको खानतलासी भयो– पहेँलो कुर्ता कहाँ होला? बल्ल एउटा दोकानमा भेटें। मेरो जिउ दुब्लो पातलो भएकोले मलाई फिटिंग हुने लुगा भेटाउन नै मुस्किलपर्छ–जति भेटे पनि लगाउँदा हेन्गरमा झुन्ड्याएको जस्तो!
मुस्किलले त्यस दिनको उर्दीको पोसाक एकछिन भए पनि हेन्गरमा झुन्ड्याउनु नै पर्यो भनेर खरिद गरें रु १२५० मा।
बिहानदेखि सुरसार चलिरहेको थियो। मेरो माइग्रेन भन्ने टाउको दुखाइको अत्याधिक नजिकको नातासँगको मेरो पुरानो सम्बन्ध हो सायद यति मित्रता कुनै सँग पनि छैन होला।
मलाई चिन्ता लागिसकेको थियो आज यीनले दुख दिनेछिन् कि? यीनी मेरो दिमागमा अर्थात् टाउकोमा प्रवेश गरिसकेपछि मैले बाहेक अरु कसैको कल्पनासम्म पनि गर्न मिल्दैन।
संसारका सबै उत्कृष्ट÷सुन्दर चिज बस्तुहरु सबै फिक्का हुन्छन्। कसैले आफ्नो अगाडि आएर मेरै प्रशंशा गरे पनि सुन्न मन लाग्दैन मिष्ठान्न भोजन पनि खान मन लाग्दैन। आजको जमानाको उत्कृष्ट प्रिय बस्तु सामाजिक सञ्जालका फेसबुक, ह्वाट्सएप, भाइबरलगायत सबै वाहियात लाग्छन्।
मेरी सुन्दर श्रीमतीले दिएको माया र छोरा छोरीले दिएको आदर पनि अहिले हैन पछि है भनेर पन्छिन मन लाग्छ।
यो टाउको दुखाइसँगको मेरो नाता कहिलेदेखिको हो भनि कसैले प्रश्न गरेमा तिथि मिति ठ्याक्कै भन्न सक्दिन। यतिचाहिँ भन्न सक्छु यनीसँगको मेरो नाता सबै भन्दा पुरानो हो।
पहिले पहाडमा हुँदा मेरी आमाले जहाँनिर दुखेको हो त्यहीनिर छिटो परेको हो भनि कुच्चोले चिटचिट गरि “मन्त्र” फुकिदिनु हुन्थ्यो र केही क्षण पछि ठिक भएर आउँथ्यो।
पछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आउँदा उहाँ पनि सँगै आउनुभयो। दुखाई हुँदा पहाड रहेकी आमालाई सम्झे उहाँसरि मन्त्र फुकिदिने मान्छे कहाँ पाउनु र? साथीहरुसँग ब्यथा सुनाए आँखाको कमजोरीले होला भन्ने सल्लाह दिनु भयो।
त्यतिखेरको वरिस्ट आँखा रोग विशेषज्ञ एन के राईको बिलिउ बोर्डमा क्लिनिक थियो। उहाँलाई देखाएँ। उहाँले औषधी दिनुभयो साथै दुई–तीन वटा आँखाको कसरत पनि सिकाउनु भयो।
दैनिक आँखा अस्पताल त्रिपुरेश्वर गई उपचार गर्थें। दुई चार महिना त ठीक हुन्थ्यो तर दुई चार महिनापछि फेरि सम्बन्ध गाँस्न आई हाल्थिन् माइग्रेन। म पनि यसबाट छुट्कारा पाउन हर उपाय खोजिरहन्थ्यो।
सुने नशाको कारणबाट टाउको दुख्छ, नेपालमा सबैभन्दा नशासम्बन्धी राम्रो डा. उपेन्द्र देवकोटा हुनुहुन्छ। खोज्दै हेर्दा उहाँको क्लिनिक थापाथलीमा रहेछ। उहाँको सहायक डक्टर डा.प्रकाश बिष्ट हुनुहुन्थ्यो। यो समय थियो २०४८ साल तिरको। यो रोगको नाम डा. देवकोटाले राखिदिनु भयो ‘टेनसन हड्याक’ ।
यो रोगको उपचार छैन चिन्ता नलिनुहोस् ठिक हुन्छ। डक्टर कहाँ गरेपछि औषधी लेख्ने नै भए। डिआजेपाम २ एमजी दिनुभयो दिनमा दुइ चोटि खानुपर्छ ठिक हुन्छ चिन्ता बिल्कुल नलिनुहोस् भन्नु भयो। मलाई कुन कुरामा चिन्ता हुन्छ? चिन्ता हुनुपर्ने कारण के हो? आदि कुराहरुले झन् पो चिन्ता हुन थाल्यो।
औषधिको कारणले होला केहि दिन त मत्थर भए जस्तो भयो तर ठिकचाहिँ भएन। मेरो मिल्ने साथी सुमन पौडेलले सल्लाह दियो “होमियोपेथिक डा. धर्म नाथ मण्डलकोमा जाउ १००%ठिक हुन्छ।”
डिल्लीबजारमा क्लिनिक रहेछ गएँ। आफ्नो सबै ब्यथा सुनाएँ, उहाँले ढुक्क हुनुहोस् यस्ता दुखाई त कति ठीक पारे! सम्झनु होस् अब यसबाट तपाइँ पुरै मुक्त हुनु हुन्छ भनेर आश्वासन दिनुभयो।
मसित खुसीको सीमा रहेन। ल अब त यसबाट पुरै छुटकारा पाइने भयो बल्ल ठिक ठाउँमा पुगिएछ भनेर एकछिन हर्ष लाग्यो। झन्डै ८ महिना जति उहाँ (माइग्रेन) मेरो टाउकोमा अटाउनु भएन।
मैले सम्झे डा.मण्डल त मेरो भगवान नै हुनु भएछ, बल्ल यसलाई ठेगान लगाइयो। औषधी नियमित सेवन गरें। डाक्टरले भनेका सबै नियमहरुको पालना गरे के खाने के नखाने आदि इत्यादी।
झन्डै आठ महिना पछि उहाँ टेन्सन नामकी प्रियसी पुनः मेरो दिमागरुपी टाउकोमा बिस्तारै प्रवेश गर्न थालिन्। मलाई उनको पुनः प्रवेशको संकेतले चिन्तित तुल्यायो।
म कत्ति पनि हरेस खाइन, लाग्यो म जसरी हुन्छ तिमीलाई मेरो दिमागबाट भगाउने छु र,म अनेक उपायको खोजीमा लागें।
मेरो मिल्ने साथी सुमन पौडेलले फेरि सल्लाह दियो डा.ऋषि राम कोइराला बरिष्ठ आयुर्वेद डाक्टर हुनुहुन्छ, उहाँलाई भेट। उहाँको क्लिनिक लैनचौरमा थियो।
आफ्नो सबै ब्यथा सुनाएँ। उहाँले दुई–तीन थरिका औषधी दिनुभयो। खानामा केही कुरा बार्नुपर्छ तपाइको टाउको दुखाइ हुनको कारण पेट सफा नभएर हो, पहिले पेट सफा हुनु पर्छ अनि टाउको दुखाई ठिक भै हाल्छ नि भन्नुभयो। औषधी खाएँ। सबै नियमहरू पालन गरें खाना के खाने के नखाने विचार गरेर चलें।
सबै आयुर्वेदिक डाक्टरहरुले मुख बार्न लगाउनु हुन्छ। ग्यास्ट्रिकको कारणले पनि टाउको दुख्छ भन्ने कुरा पहिलो चोटी थाहा पाएँ। मलाई हो जस्तै लाग्यो किनकी मलाइ टाउको दुख्दा ढ्याउ ढ्याउ डकार आउँथ्यो। झन्डै एक बर्ष जति मैले पुरै आराम पाएझंै लाग्यो अब मेरो जीवनमा कहिले यो विमार आउने छैन भनेर ढुक्क भएँ।
के हुन्थ्यो र! यो त मेरो जीवनमा बिस्तारै बिस्तारै फेरि फरक ढंगबाट देखा पर्न थाल्यो। मैले त्यस्तो धेरै कहिले मदिरा सेवन गर्दिन। कहिलेकाहीँ साथीभाईसँग वा पार्टीमा एक दुइ पेक लिन्थें। पार्टीमा मसलादार खाना खाँदा र एक दुइ पेक खादा घर आइसके पछि राति सुत्दा बिस्तारै टाउको को एक साइडमा सियोले घोचे जस्तोगरी दुख्न थाल्यो। वान्ता गरेपछि मात्र ठिक हुने हुनथाल्यो। फेरि तनाव सुरु भयो।
(क्रमशः अर्को अंकमा)