Nic Ad Nic Ad
Nic Ad Nic Ad
एनसेल शेयर खरिद–बिक्री विवाद

एनसेल बिक्री शंकास्पद रहेको सत्ता गठबन्धनको निष्कर्ष 

मंगलबार, मंसिर १९, २०८०

काठमाडौँ– सत्तारुढ गठबन्धनले एनसेलको शेयर खरिद–बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बालुवाटारमा डाकेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफलमा एनसेलको शेयर खरिद–बिक्री शंकास्पद भएको निष्कर्ष निकाल्दै गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग भने, ‘एनसेलको सेयर खरिद बिक्रीबारे जे जति प्रश्नहरु उठेका छन्, ती गम्भीर छन्, जायज छन्’,  ‘यसबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ, सुक्षम ढंगले अध्ययन गर्नुपर्छ भन्ने निष्कर्षमा शीर्ष नेताहरुको बैठक पुगेको छ ।’ 

नेपालको कानुन बमोजिम गर्नुपर्ने सबै प्रक्रिया पूरा गर्नुपर्ने भन्दै बैठकले नेपालको कानुन र हित विपरीत भएका कामहरुलाई सरकारले रोक्नुपर्ने निष्कर्ष समेत निकालेको प्रमुख सचेतक लेखकले बाताए । उनका अनुसार नेपाल सरकारका सम्बन्धित निकायले  छानबिन गर्ने र मन्त्रिपरिषद्ले पनि आवश्यक निर्णय गर्नेछ ।

यसअघि महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको बताउँदै भनेका थिए, ‘मैले सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिसकेको छु । नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिदैन, छानबिन गरी कारबाही गरिन्छ ।’

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्