काठमाडौँमा १४ जना जुवाडे पक्राउ
काठमाडौँ– काठमाडौँको छुट्टाछुट्टै स्थानबाट नेपाल प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार साँझ टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भएका ५५ वर्षीय अच्युत सिलवालसमेत नौ जनालाई नगद रु ६१ हजार पाँच सय ९५ र तीन बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै, काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ चक्रपथ बस्ने काभ्रेपलाञ्चोक घर भएका ६० वर्षीय ओमकृष्ण श्रेष्ठ समेत पाँच जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ४८ हजार पाँच सय ६० र तीन बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।