अहिले प्रतिभा खोज्ने विभिन्न ‘टेलिभिजन शो’लाई गिज्याउने नारायण गोपालको त्यो प्रश्न
काठमाडौं– प्रतिभाको खोजीका निम्ति अहिले विभिन्न टेलिभिजनहरूमा विभिन्न ‘शो’हरू आउने गरेका छन्। खासगरी अन्तर्राष्ट्रिय फ्रेन्चाइज शोहरूले गायक गायिकालगायत खोज्ने काम गरिरहेका छन्।
करोडौं खर्च गरेर यस्ता शो चलिरहेका छन्।
विवादीत पनि बन्ने शोहरूका बारेमा आजभन्दा ३५ वर्षअघि नै स्वर सम्राट नारायण गोपालले आलोचना गरेका थिए। तत्कालिन वडामहारानी रत्नराज्य लक्ष्मी शाहले खोलेको रत्न रेकर्डिङ संस्थाको कामको प्रतिक्रिया दिँदा नारायण गोपालले खोजेर प्रतिभा भेटिँदैन भनेका थिए।
एउटा अन्तरवार्ताका क्रममा उनले भनेका छन्,‘शुभकामना सङ्गीत कहिले प्रतिभाको खोजी भनेर काम गरिन्छ। खोजेर पनि कहीँ प्रतिभा पाइन्छ? प्रतिभा आफैँ प्रस्फुटित हुने कुरा हो। त्यसैले प्रतिभा खोज्नेभन्दा प्रस्फुटित प्रतिभालाई जोगाउने र संरक्षण गर्ने काममा लाग्नुपर्छ।’
उनले राजनीतिक क्षेत्रमा झैं साँस्कृतिक क्षेत्र पनि भूमिगत गिरोहबाट पीडित भएको बताएका थिए। रेडियो नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठानको व्यवस्थापनमा स्वार्थी व्यक्ति र गिरोहको प्रभाव रहेको उनको आरोप थियो।
उनले त्यसबेला भारतमा बोलाउँदा किन नगएको भन्ने सन्दर्भमा भनेका थिए,‘स्वाभिमान त्यागेर त्यहाँ गई अरूको चाकडी गर्न चाहन्नँ। म आज जे छु नेपाल र नेपालीले गर्दा नै छु र म यसैमा सन्तुष्ट छु। म ज्यादा धनी नभए पनि गरिब पनि छुइनँ र पैसा कमाउनु मात्र मेरो लक्ष्य छैन। हिन्दी फिल्ममा गाउने रहर मलाई पटक्कै छैन।’
गायन, सङ्गीत वा कलाको सीमा नहुने बताउने नारायण गोपालले जतिजति गाउँदै वा सङ्गीत गर्दै गयो, उतिउति नयाँनयाँ क्षितिजहरू खुल्दै जाने विश्वास राख्थे।
‘यो एउटा अनन्त यात्रा हो। बीथोवेनले एक ठाउँमा भनेका छन्, वास्तविक कलाकारसँग अहम् भन्ने चीज हुँदैन’, उनले पत्रकार हरिहर विरहीसँगको अन्तरवार्ताका क्रममा भनेका थिए।
केटाकेटी उमेरमै नारायण गोपाल बाबु आशागोपाल गुरूवाचार्यसँग हिँड्थे। उनको घरको बैठकमा प्रायः सधैँ सङ्गीतको महफिल जमिरहन्थ्यो।
‘केटाकेटी अवस्थामै म त्यो महफिल बेलाबेलामा जान्थेँ र गीतहरू सुन्थें। यस्तैमा म विस्तारै गाउन पनि थालें। सर्वप्रथम मैले २०१७ सालमा आफ्नो कलेजको समारोहमा दुइटा गीत गाएँ। ती गीत ‘स्वर्गकी रानी’ र ‘आँखाको भाखा आँखैले’लाई साथीहरूले ज्यादै मन पराए’, उनले अन्तरवार्तामा खुलाएका थिए। त्यहाँदेखि गाउँदा गाउँदै महान् र लोकप्रिय गायक बन्दा पनि उनी भन्थे,‘यो उद्देश्यहिन यात्राले यहाँ ल्याइपुराएको हो।’
आर्थिक सहयोग वा पारिश्रमिकका विषयमा उनी सन्तुष्ट थिएनन्। सरकारी क्षेत्रबाट पाउने सहयोग बिल्कुलै नगन्य रहेको बताउँथे उनी।
‘एउटा गीत गाएको ४०–५० रूपैँया पाइन्छ। आजकल ७५ रूपैँया छ क्यार। एउटा कलाकारले हप्तामा एउटा गीत रेकर्ड गरायो भने पनि महिनाको सरदर ३०० रूपैँया प¥यो। अर्थात् एउटा राम्रो कलाकारले पियनको भन्दा कम पाउँछ’, उनले भनेका थिए,‘गीत गाएर मात्र कलाकार बाँच्दैन। बाँच्नका लागि खानु पनि पर्छ। त्यसकारण बाँच्नका लागि उसले यति कडा संघर्ष गर्नुपर्छ कि कला–साधना गर्ने समय नै पाउँदैन। खेलकुद र त्यस्तै अरू कतिपय अनुत्पादक क्षेत्रमा करोडौँको लगानी गर्न सकिन्छ भने सङ्गीत र कलाको क्षेत्रमा लगानी गर्न किन त्यस्तो कन्जुसी गरिएको हो–बुझ्न सकेको छैन।’