प्रचण्डको ‘पापका पन्त्यौरा’ र पश्चातापको बिलम्ब
सत्य तितो हुन्छ– उपचार नमिठो लाग्न सक्छ। कुनै बेला युद्ध नायकका रुपमा चित्रित गरेका यीनै मतिष्कले आज पुष्पकमल दाहाल प्रचण्डको पापको पन्त्यौरो कति कसिलो हुँदैछ भन्ने मापन गर्नु परेको छ, नमिठो लागिरहेको छ।
रामकुमारी झाँक्रीले मुखको टेप खोल्दै ‘बोल्न पाइन्छ, गणतन्त्र हो, यहाँ बोल्न पाइन्छ’ त भन्दिन म। तर, जनतासामु सत्य चिजचाहिँ लेख्न पाइन्छ। यी हातहरूले कहिँ घात नगरेका कारण सत्य लेख्नका लागि चुक्ने छैन भन्ने आत्मविश्वास छ।
हिजो र आज दुई तस्बिरमा देखिएका प्रचण्डको मनोदशाको मुल्यांकनका आधारमा यति लेख्ने साहस गर्दैछु। यो साहस आम मानिसको आँसु र रगतका बाछिटाले कोरेको राजनीतिक व्यवस्थाका अव्यवस्थित कार्यकारी प्रमुखलाई बाटो देखाउनका लागि आएको हो। सच्चिनु एउटा मार्ग हो, सक्किनु फरक पाटो हो।
अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्
परोपकार पुण्याय पापाय परपीडनम् ।।
अर्थात् परोपकार गरे पुण्य कमाइन्छ, पाप गरेका पीडा भोग्नुपर्छ। प्रचण्डले भोगेका पीडाको चर्चा गर्नेछैन। तर, उनले जे देखाइरहेका छन् अहिलेको स्थितिमा त्यसको साधारण उदाहरणसहित केही चर्चा गर्नेछु।
समाचारका रेखा कोर्नैलाग्दा एकाबिहानै गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालमा भर्ना हुँदा प्रचण्ड भेट्न पुगेको तस्बिर अगाडि आयो। र, एउटा अवोध आँसुको बेदनाले छटपटिएकी मञ्जु धमलाको कारुणिक चित्कारको हिजोको स्थिति देख्दा प्रचण्ड पापको पन्त्यौरो कति कसिलो बनाइरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ।
युद्ध नलडेका नारायणकाजीको त्यत्रो चिन्ता लाग्ने प्रचण्डले अब उपचार खर्चका नाममा सरकारबाट के–कति रकम निर्णय गराउलान् थाहा छैन। अन्य नेता कतिले त कति हो कति लििगसकेका छन्।, तर, युद्धको छर्रा बोकेकी धमलाका लागि भएको निर्णयको रकम समेत नपाएको गुनासोको पोको फुकाउन नपाउनेगरी सिंहदरबारमा प्रहरी परिचालन गरेर कुन गणतन्त्रको बखानबाजी गर्लान्, प्रचण्डले? त्यो हेर्न बाँकी छ।
युद्धक्रान्तिको नेता, शान्ति प्रक्रियाको नेता, नेपाली कम्युनिस्ट राजनीतिमा मदन भण्डारीपछि एउटा उभार ल्याउने नेता प्रचण्ड। तर, यो खुला राजनीतिको दाउपेचमा आउँदा मात्र उनले पाएका केही प्रतिनिधि प्रतिक्रियाको चर्चा गर्नु आवश्यक छ।
किर्तिपुरमा चुनाव लड्दै गर्दा पदम कुँवरले गालामा चड्कन लगाएका थिए। त्यो आक्रोशलाई प्रचण्डले सम्बोधन गरिदेलान् भन्ने थियो। प्रचण्ड सच्चिने बाटोमा लागेनन्।
त्यसपछि रतन तिरुवाले जुत्ताले हाने, त्यो क्रियाको अर्थ उनले बुझेनन्। प्रेम आचार्यले उनकै गाडी हिँड्ने बेलामा आत्मदाह गरिदिए, त्यसलाई नजरअन्दाज गरिदिए। अहिले मञ्जु धमला क्यान्सर लागेको ‘कुहिइएको खुट्टो’ लिएर आँसुका समेत छर्रा लिएर भेट्न चहान्छिन्, प्रहरी लगाउँदैछन्। प्रचण्डका पापको पन्त्यौरो अझ कसिलो हुँदैछ। राजनीति मानवताहिन अस्त्र हो भने छाडिदेऊ यो अस्त्र बरु समात नयाँ शास्त्र।
सत्ता टिकाउन भारतमा पुगेर गेरुबस्त्र लगाउने प्रचण्डले पुराण र बेद पढेका छन् भने कस्ता–कस्ता पाप माफीका लागि लायक छैनन् भन्ने जानकारी गराउन चहान्छु।
पापका विभिन्न श्रेणी छन्। अर्कोको पति वा पत्नीलाई नराम्रो नजर लगाउनु वा उसलाई पाउने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ।
अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु वा हडप्नु, कुनै सोझो–सादा व्यक्तिलाई कष्ट दिनु, उसलाई नोक्सान पु¥याउनु वा धन–सम्पति लुट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ।
राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु, कुनै पनि गर्भवती महिलालाई नराम्रो बचन लगाउँनु वा आफ्नो कुराले उसको चित्त दखाउँनु, कसैको आत्मासम्मानलाई हानि पुर्याउने नियतले झूटो बोल्नु ‘छल’को श्रेणीमा राखिएको छ यी पाप हुन्।
यो टिप्पणीकारले होइन, बेदव्यासले पुराणमा उल्लेख गरेका ग्रन्थ हुन्। देखावटी रुपमा टिप्पणीकार गेरुबस्त्र लगाउन बाध्य छैन तर सत्ताका निम्ति भारतीय भूमीमा त्यति गरेपछि यत्ति जानकारी प्रचण्डले राखेका छन् कि छैनन्?
खैर, धर्म शास्त्रले जे भने पनि मानवीय संवेदनाको हेक्का नराख्नु पापको सबैभन्दा श्रेष्ठ श्रेणी हो। हिजो युद्धका बेला मुक्तिका नाममा भएका हत्या र आन्दोलनका चर्चा होइन, त्यसबेला उक्साएर सपनाको ठूलो व्यापार गरेर पाप गर्न लगाउने, त्यसको नेतृत्व लिन लगाउनु पाप हो कि होइन? अनि, तिनै काममा खटिएका निर्धा धमला जस्ताको जीवन बर्बाद बनाउने काम पाप हो कि होइन?
नेपालको राजनीतिको मेरुदण्डका रुपमा भएका पुराना क्रान्तिको नेतृत्व शिक्षकले लिन्थे। किनकी, शिक्षकले समाजमा शिक्षाको ज्योती छर्दा राजनीति र चेतनाको विषयलाई पनि सिकाउँछन् भन्ने मान्यता थियो। तर, प्रचण्डको राजनीतिक उचाईको पहिलो श्रृङ्खला नै हत्याबाट सुरु भयो। त्यो पनि गुरुहत्या। माओवादी आन्दोलनका नाममा मुक्तिनाथ अधिकारीमाथि जुन ज्यादती र आततायी किसिमको निर्मता र बर्बता देखाइएको थियो, त्यसको सामान्य पनि हेक्का यसबेला राख्नु पर्छ कि पर्दैन, प्रधानमन्त्री प्रचण्ड ज्यू।
थाहा छैन, राजनीति र त्यसबाट प्राप्त कुर्सीको मोहमा पश्चाताप भन्ने विषयले प्रवेश पाउँछ या पाउँदैन, स्थान लिन्छ या लिँदैन। तर, आफूले बसाएको जग, खनेको अपराधको सरलीकरणको पश्चाताप गर्दा बेस नै हुन्छ।
सानो समस्याले मानिसलाई जरैबाट हल्लाइदिन्छ र बाँच्नुको उद्देश्य, जीवित रहनुको अभिप्राय र कर्मका उपलब्धिबारे ऊ पटक–पटक चिन्तित हुने गर्छ।
बाहिरबाट जतिसुकै आत्मविश्वासको खोल ओढिए पनि अहम् मौकामा मन डगमगाउन थाल्छ र सोच्न तथा पुनर्विचार गर्न बाध्य हुन्छौँ– हामीले अपनाएको मार्ग ठीक हो कि होइन? यी प्रश्नका उत्तर नखोज्ने र आफूभित्र घोत्लिन नसक्नेले जीवनलाई व्यर्थ, दुःख र अभावको संज्ञा दिन्छ। प्रचण्डमा यो हुन्छ या हुँदैन?
जीवनको लक्ष्य, जिउनुको उद्देश्य, सही मार्गको ज्ञान भित्रबाट मात्र खुल्छ। जीवनलाई परिभाषामा बाँध्न सकिन्न। यस्तो चिन्तन आउँछ कि आउँदैन। कुनै अन्तरवार्तामा प्रचण्डले भनेको सुनेको थिएँ,‘अब एक्लो जीवन एकान्तमा बसेर पुस्तक लेख्न मन छ।’ सायद, उनमा पनि मानवीयताका केही अंश होलान्।
त्यसो भए मञ्जुले मात्र होइन, प्रधानमन्त्रीको कुर्सीमा तीन पटकसम्म बस्ने हैसियतका लागि शरिर कुहाइराखेका मानिसको जीवनको सुरक्षाका निम्ति गरेको बिलम्बमा पश्चाताप हुन्छ कि हुँदैन? युद्ध लडेकालाई मौका दिनुको साटो सानो घेरामा मात्र रुमल्लिएको विषयको आत्मग्लानी प्रचण्डले गर्छन् कि गर्दैनन्? भो, पापको त्यो कसिलो पन्त्यौरो अब खुकुलो बनाउने कि नबनाउने? इतिहासले प्रधानमन्त्रीको कुर्सीसम्म पुराएको सत्यलाई वर्तमानमा बर्बरताले छोप्नु कायरता हो। भरे, एकान्तमा रुनु नै छ!
यसर्थ, प्रधानमन्त्री ज्यूलाई सुझाव छ– तमाम घाइते, अपांग र शहीदका नाममा राजनीति होइन, मानवीयता र धर्मनीतिअनुसार काममा लाग्नुहोस्। परिवर्तनपछि सुखी बन्ने नेपाली जनताको चाहनामा लागेको ग्रहण हटाउने कर्ममा लाग्नुभयो भने, पापको पन्त्यौरो नै नरहला, हैन भने युद्धका नाममा भड्किएका आत्माको चित्कारले छाड्ने छैन। कोतपर्व मच्चाएका जंगबहादुरले पनि मर्ने बेलामा जंगलमा आफ्नी पत्नीलाई भनेका थिए रे– ऊ सेतो बाघले खाने भयो। आत्मसमिक्षा गर्दागर्दै उनको अन्त्य भयो भन्ने चर्चा छ। तपाईँसित सच्चिने मौका छ।
राजनीति गर्दै गर्नुहोला, पहिला जननीतिअनुसार चल्नुहोस्!