Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोहन वैद्य नेतृत्व कम्युनिस्ट पार्टीले अघि सार्‍यो अस्थायी संयुक्त सरकारको कार्यनीति 

बिहीबार, मंसिर २१, २०८०

काठमाडौँ– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले तत्कालिक राजनीतिक कार्यनीतिका रुपमा अस्थायी संयुक्त सरकारको कार्यनीति अघि सारेको छ । 

बिहीबार काठमाडौँमा पार्टीको ताल्कालिक राजनीतिक कार्यनीतिका बारेमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आठ वर्ष बितिसक्दा पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै विकराल बन्दै गएको र जनताले विकल्पको खोजी गरेको सन्दर्भमा तत्कालिक राजनीतिक कार्यनीतिका रुपमा अस्थायी संयुक्त सरकारको कार्यनीति पारित गरिएको जानकारी दिए ।

अस्थायी संयुक्त सरकारले संघर्षका उपलब्धिहरूको रक्षा सहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आधारित तात्कालिक कार्यक्रमको कार्यान्वयन गर्ने बैद्यले बताए । त्यस्तै पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तरवस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्ने उनले बताए ।

उनले पार्टीको कार्यनीतिको कार्यान्वयनका लागि देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी राष्ट्रिय सम्मेलनको आयोजना र त्यसै सम्मेलनमार्फत क्रान्तिकारी संयुक्त मोर्चाको निर्माणमा जोड दिइएको जिकिर गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि बनेका सरकारले जनजिविकाका समस्याहरु समाधान गर्न नसकेको उनले बताए ।

अहिलेको अवस्थामा देश र जनताका लागि वर्तमान राज्यसत्ता, व्यवस्था र संसदवादी राजनीतिक दलहरूको विरोधमा सशक्त, क्रान्तिकारी र अग्रगामी विकल्प चाहिएको सो पार्टीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्