पूर्वराजाले वास्ता गरेनन्, धार्मिक गुरुले साथ नदिने घोषणापछि के होला दुर्गा प्रसाईंको महाअभियान?
काठमाडौं– धार्मिक सापेक्षतासहित नागरिक सुरक्षाको नाम दिएर राजसंस्था पुनःस्थापनाको नारा दिएर महाअभियान घोषणा गरेका दुर्गा प्रसाईंका अबका दिनचर्या कसरी बित्लान्? भन्ने प्रश्न उठेको छ।
घाँटीको उपचार गराएका प्रसाईंको अभियानलाई बल पुग्नेगरी झापादेखिका सभामा सहभागी भएका धर्म गुरुहरूले पनि साथ नदिने घोषणा गरिसकेका छन्। आक्रामक देखिएका र प्रसाईंलाई आधुनिक युगका नेता मानेका आचार्य श्रीनिवासले नै साथ नदिने घोषणा गरेपछि उनको महाअभियानको समर्थनमा क–कसले साथ देलान् भन्ने संशयपूर्ण अडकलबाजी भएका छन्।
जबकि, प्रसाईंले समानान्तर सरकार गठनको घोषणासँगै राजा ज्ञानेन्द्रलाई आगामी फागुन १ गतेभित्र स्थापित गराउने बताएका थिए। तर, उनको महाअभियानलाई कुनै वास्ता नगरी झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निमन्त्रणामा एउटा विद्यालयको कार्यक्रममा पुगेका राजा ज्ञानेन्द्रले विश्वास नगरेको चर्चा पनि छ।
कतिपय राजसंस्थाका पक्षधरले प्रसाईंको आन्दोलनमार्फत व्यवस्था परिवर्तन हुन नसक्ने बताइरहेका छन्। यहाँसम्मकी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए,‘बैंकको ब्याज नतिर्नेले व्यवस्था परिवर्तन गरिदिन्छ भनेर पत्याउन सकिन्छ? त्यस्ता व्यक्तिका पछाडि कुद्न सकिएला?’
त्यसो त उनको महाअभियानमा बैंकबाट पीडितको सहभागीता उल्लेख्य भएको राज्यका सूचनाका संयन्त्रले जनाएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले प्रसाईंको आन्दोलन वा अभियानले खासै प्रभाव नपार्ने रिपोर्ट बुझाइएको थियो।
प्रसाईंको अभियानले राजनीतिक वृत्तमाचाहिँ एक प्रकारको सन्देश दिएको नेताहरूका बयानबाजीले पुष्टि गर्छ। बैंक तथा बित्तिय संस्थाको ब्याजदर अस्वभाविक भएको भन्नेचाहिँ नेताहरूले महसुस गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले स्पष्ट पार्छ।
ओलीले बैंकको ब्याज मिटरब्याजीको जस्तो हुन नहुने बताएका थिए। यो प्रसाईंको अभियानको प्रभावका रुपमा नै लिन सकिने उदाहरण हो। उता, अर्थतन्त्र सुधारका निम्ति सरकार पनि सक्रिय रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड पनि सक्रिय भएका थिए।
यसबाहेक प्रसाईंको अभियानको अति महत्वकांक्षाका रुपमा देखिएको हिन्दू राष्ट्रय कायम गर्ने र राजसंस्था पुनःस्थापना तत्कालका लागि सम्भावना नरहेको सर्वत्र टिप्पणी हुन थालेको छ।
‘पुरै अभियान सिथिल भएको भन्दा पनि सन्दर्भ र उद्देश्यको तालमेलमा कठिन भयो भन्ने लाग्छ’, विश्लेषकहरू भन्छन्,‘समय र मौकाका आधारमा नै व्यवस्था परिवर्तन हुने गरेको छ। यसलाई एउटा युग परिवर्तन पनि भन्ने गरेका कारण त्यो समय हो कि होइन भन्ने यकिन गर्नुपर्ने बताइन्छ।’
यद्यपि कतिपय सन्दर्भमा विश्लेषक सौरभले भने प्रसाईंको अभियानले केही न केही संकेत गरेको बताएका थिए। उनका अनुसार कुनै पनि दल प्रतिपक्ष नहुँदा प्रसाईंको अभियान एउटा उदाहरण बन्न पुगेको थियो।