Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपिन जोशीलाई छुटाउन परराष्ट्रमन्त्री साउदले गरे कतारलाई पुन: आग्रह

सोमबार, मंसिर २५, २०८०

काठमाडौं- विपिन जोशीलाई छुटाउनको लागि नेपालले फेरि कतारलाई आग्रह गरेको छ। दोहामै राजनीतिक कार्यालय भएको हमास समूहको कतारसँग सुमधुर सम्बन्ध रहेको छ। सोही सम्बन्धलाई आधार मानेर नेपालले कतारलाई लगातार हमासले बन्दी बनाएका जोशीलाई रिहा गर्नको लागि पहल गरिरहेको छ ।

आइतबारबाट सुरु भएको २१ औं दोहा फोरममा सहभागी हुन गएको अवशर पारेर ले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग भेटवार्ता गर्दै जोशीको रिहाईको लागि पहल गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी जोशीको छिटोभन्दा छिटो रिहाईको लागि पहल गरिदिन आग्रह गरे। जवाफमा खुलाइफीले नेपाली नागरिक जोशीको रिहाईको लागि लगातार रुपमा लागिरहेको जानकारी दिए ।

हमास विद्रोहीले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दै इजरायलसहित विभिन्न मुलुकका नागरिकहरुलाई बन्दी बनाएर लगेको थियो । त्यसमा नेपालका जोशी पनि सामेल छन्। जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका थिए । अक्टोबर ७ को आक्रमणमा सोहि कार्यक्रम अन्तरगत गएका १० जना नेपालीको घटनास्थलमा मृत्यु भएको थियो । त्यसपछि नेपाल सरकारले नेपालीहरुलाई हवाई उद्धार गर्ने काम पनि गर्‍यो ।

गत मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालस्थित कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए। जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए । नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्