एनएसएलमा झापाले पहिलो जित दर्ता गर्यो
काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसीले पहिलो जित दर्ता गरेको छ ।
आज भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले हराउँदै झापाले आफ्नो पाँचौं खेलमा पहिलो जित दर्ता गरेको हो ।
खेलको ३९औं मिनेटमा अन्जन विष्टकाे पासमा जवर्ज सान्चेजले गोल गर्दै झापालाई अग्रता दिलाए । पाँचौं खेलमा यो उनको पहिलो गोल समेत हो ।
लिगको पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीसँग हारेको झापाले त्यसपछिका ३ खेल बराबरी खेलेको छ ।
चोटका कारण दुई खेल गुमाएका झापाका कप्तान अन्जन विष्ट आज सुरुवातीबाट नै खेलेका थिए । झापाका युवा डिफेन्डर योगेश गुरुङ आजको खेलमा थिएनन् । पछिल्लो खेलमा उनले रातो कार्ड खाएका थिए । उनको स्थान विशाल बस्नेतले लिएका थिए ।
झापा पाँच खेलमा ६ अंक सहित छैठौं स्थानमा उक्लिएको छ । बुटवल छ खेलमा ७ अंक सहित पाँचौं स्थानमा यथावत छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० १९:१५
प्रतिक्रिया दिनुहोस्