Nic Ad Nic Ad
Nic Ad Nic Ad

भूकम्पप्रभावित क्षेत्रमा ३५ सय अस्थायी आवास निर्माण

बुधबार, मंसिर २७, २०८०

रुकुम पश्चिम- रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीतिक दल सक्रिय छन् । हालसम्म तीन हजार पाँच सय अस्थायी आवासी निर्माण भएका छन्। स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिएको हो। 

भूकम्पप्रभावित क्षेत्रमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रियतामा निर्मित आवासमा भूकम्पप्रभावितलाई स्थानान्तरण गरिएको छ। 

प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका अनुसार भूकम्पबाट बढी प्रभावित आठबिसकोट नगरपालिकामा एक हजार तीन सय पाँच, सानीभेरी गाउँपालिकामा आठ सय ५४, चौरजहारी नगरपालिकामा ६ सय सात, त्रिवेणी गाउँपालिकामा तीन सात, मुसिकोट नगरपालिकामा २४ र बाँफीकोट गाउँपालिकामा ७१ अस्थायी आवास निर्माण गरिएको हो। 

पहिलो चरणमा एकल महिला, गर्भवती, वृद्धावृद्धा र आफैँ अस्थायी आवास बनाउन नसक्नेलाई लक्षित गरेर अस्थायी आवास निर्माण गरिएको शर्माले बताए।  

त्यस्तै, कांग्रेस रुकुम पश्चिमले पनि भूकम्पप्रभावित क्षेत्रमा निरन्तर अस्थायी आवास निर्माणमा जुटेको जनाएको छ। हालसम्म नेपाली कांग्रेसले सानीभेरी गाउँपालिकामा २५ र आठबिसकोट नगरपालिकामा ५० गरेर ७५ घरपरिवारलाई अस्थायी आवास हस्तान्तरण गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी प्रवक्ता लालबहादुर ओलीले जानकारी दिए। 

उनका अनुसार पार्टीले तीन सय स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिहेको छ। पार्टीले प्रभावित क्षेत्रमा एक हजार अस्थायी आवास निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको प्रवक्ता ओलीले जानकारी दिए।  

नेकपा एमालेले रुकुम पश्चिमले तीन सय ४५ अस्थायी आवस निर्माण गरेको जनाएको छ। उनका अनुसार भूकम्पप्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न  स्वयंसेवकको लागि लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट दुई सय ५०  जना र जिल्लाका ५० जना गरेर तीन सय स्वयंसेवक अस्थायी आवास निर्माण गर्न परिचालन भएका थिए। 

पार्टीले हालसम्म आठबिसकोट नगरपालिकामा एक सय ८९, सानीभेरी गाउँपालिकामा ५८, चौरजहारी नगरपालिकामा ८६ र बाँफीकोट गाउँपालिकामा १२ गरेर जिल्लाभर तीन सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएको छ। 

नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमले पनि पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ठगेन्द्रप्रकाश पुरीको नेतृत्वमा प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम जारी राखेको छ। 

आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ५० भन्दा बढी अस्थायी आवास निर्माण गरिसकिएको पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष तथा अस्थायी आवास निर्माणको नेतृत्व गरिरहेका पार्टी उपाध्यक्ष पुरीले जानकारी दिए। 

उनका अनुसार आठबिसकोट नगरपालिका– १४ जामिरेकोटमा १९ वटा लाभग्राहीको अस्थायी आवास निर्माण गरेर नेपाल सरकारका भौतिक, पूर्वाधार तथा यातायातमन्त्री नन्दा शर्मा चपाईको उपस्थितिमा लाभग्राहीलाई केही दिनअघि हस्तान्तरण गरिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जिल्लामा १७ वटा अस्थायी आवास निर्माण गरेर पीडित परिवारलाई हस्तान्तरण गरेको जनाएको छ। आठबिसकोट नगरपालिकाका मृतक  १० परिवारलाई र सानीभेरीमा गाउँपालिकामा एकल तथा अस्थायी आवास बनाउन नसक्ने अवस्थाका सात परिवारका लागि अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरिएको पार्टीका कर्णाली प्रदेश नीति तथा योजना विभाग प्रमुख मानबहादुर शाहीले जानकारी दिए। 

हालसम्म १९ हजार एक सय ३४ लाभग्राहीलाई पहिलो किस्ताबापत रु. २५ हजारका दरले ४७ करोड ८३ लाख ५० स्थानीय विपत् जोखिम न्यूनीकरण कोषमा पठाएको विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्