नेभिगेशन
खेलकुद
नेपाल सुपर लिग–२

‘विवादास्पद’ पेनाल्टीमार्फत वीरगन्जको जित

काठमाडौँ– नेपाल सुपर लिगमा इन्ज्युरी समयमा गरेको ‘विवादास्पद पेनाल्टी’ गोल गर्दै वीरगन्ज युनाइटेड एफसीले पहिलो जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा स्पोर्टिङ्ग इलाम एफसीमाथि वीरगन्जले गर्दै २–१ को जित दर्ता गरेको हो । 

खेलको १५औं मिनेटमा बक्सको बायाँपट्टिबाट आएको पासलाई नियन्त्रणमा लिएर आशिष चापागाईंले जालिको माथिल्लो भागमा प्रहार गर्दै इलामलाई अग्रता दिलाए ।

त्यस्तै, खेलको ३३औं मिनेटमा वीरगन्जले खेललाई बराबरीमा ल्यायो । सुशील लामाको क्रसमा भिषणले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको इन्ज्युरी समयको छैटौं मिनेटमा रेफ्री ब्यन्जनकारले वीरगन्जलाई पेनाल्टी दिएपछि इलामका खेलाडी रुष्ट बनेका थिए । पेनाल्टीमा विलियम ओपोकुले गोल गर्दै वीरगन्जले लिगमा पहिलो जित पक्का गर्न सफल भए ।

पेनाल्टी दिएपछि रुष्ट बनेका इलामका खेलाडीले रेफ्रीमाथि नै हातपात गरे । खेल सकिएको सिठ्ठी फुके लगत्तै रेफ्री कबिन व्यञ्जनकारसँग इलामका कप्तान तथा गोलकिपर विकेश कुथु विवाद गर्दै अघि बढेका थिए । रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्ड देखाए । त्यसपछि झनै आक्रामक बनेका विकेशले व्यञ्जनकारमाथि हातपात नै गर्न पुगे । इलामका केही खेलाडी रेफ्रीमाथि आक्रामक बनेपछि मैदानमै पुगेर सुरक्षाकर्मीले छुट्टाउन परेको थियो ।

वीरगन्जको यस जितसँगै ५ खेलमा ५ अंक छ । इलामको ६ खेलमा ४ अंक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय