नेभिगेशन
समाचार
कांग्रेसको आन्तरिक राजनीतिमा झड्का

देउवाका मियो बालकृष्ण खाँण कोइराला क्याम्पमा, उपसभापति पक्का!

काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिमा ब्यापक पराकम्पन जाने संकेत देखा परेका छन् । प्रभावशाली नेताका रुपमा चिनिएका बालकृष्ण खाँणको रिहाईसँगै अब संस्थापन पक्षले भुइँचालोको सामना गर्नुपर्ने निश्चितप्रायः छ।

देउवाको हुकुमत चल्ने स्थितिमा पनि उनका मियोको रुपमा रहेका खाँणमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरी जेलयात्रासम्म गराएपछिको स्थिति अलग हुने पक्कापक्की छ ।

खाँणको रिहाईले संस्थापनइतरका नेता शेखर कोइराला थप शक्तिशाली हुने निश्चित छ। खाँण कोइराला क्याम्पमा छिर्ने बताइन्छ । उच्च स्रोतका अनुसार आगामी महाधिवेशनमा खाँण कोइरालालाई सभापति मानेर उपसभापति बन्ने लगभग तय भएको छ ।

महाधिवेशनअघि नै हुने महासमिति र केन्द्रीय समितिको बैठकमा देउवा पक्षले खाँणको प्रश्नको सामना गर्नुपर्ने हुन्छ । देउवा स्वयमले खाँणका विषयमा स्पष्ट उत्तर देलान् कि नदेलान् यो हेर्न बाँकी रहेको कांग्रेसका नेताहरू नै बताउँछन् ।

देउवा क्याम्पबाट १५औं महाधिवेशनमा सभापतिका निश्चित उम्मेदवार रहेका खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सहयोग नभएपछि कोइराला समूहका लिडरका रुपमा स्थापित हुनेछन्। उनलाई यस प्रकरणबाट उन्मुक्तिका लागि कोइरालाको भूमिका बलियो रहेको प्रष्ट देखिन्छ । जेलमा एक पटक पनि भेट्न नगएका देउवा र उनका क्याम्पका नेताको शैली टिठलाग्दो थियो। तर, कोइराला चार पटक भन्दा बढी खाँणलाई भेट्नका लागि कारागार पुगेका थिए। अन्ततः उनी धरौटी बुझाएर रिहा भएका छन्। उनको रिहाईले अब कांग्रेसमा हुने बैठकमा के–के हुने हो, सभापति देउवासँग उनका गुनासाका पोका खुल्ने नै छन् ।

यो किन पनि तय छ भने सुन प्रकरणमा माओवादी केन्द्रका उपसभापति कृष्णबहादुर महराले उन्मुक्ति पाउने तर त्यहि सरकारलाई काँध थापेर बोकिरहेको कांग्रेसका नेताले भने जेलयात्रा गर्नुपर्ने नियतिबारे प्रश्न उठ्ने कांग्रेस सांसद सुनिल शर्मा बताउँछन् ।

‘कत्रा कत्रा अभियोग लाग्दा देउवाको पूजा गर्नेहरूले संरक्षण पाउने तर प्रमाण नपुग्दा पनि खाँणले सजाय भोग्नुपर्ने विषय उठ्नेछ’, एक नेता भन्छन्,‘उनको राजनीतिक करिअर सक्नका लागि भएका सबैखाले रणनीतिबारे स्पष्ट जवाफ खोजिन्छ ।’

देउवा आगामी महाधिवेशनमा नेतृत्वबाट अलग हुँदा पत्नी आरजु राणालाई नेतृत्वमा ल्याउन चहान्छन् । त्यसका लागि डा. शशांक कोइरालालाई सभापतिको उम्मेदवार बनाउने प्रस्तावसहित उपसभापतिमा राणाको पद निश्चित भइसकेको बताइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार