संसदमा सुरक्षा उल्लङ्घन ‘अत्यन्त गम्भीर’ : प्रधानमन्त्री मोदी
नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय संसदको तल्लो सदन लोकसभामा भएको सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् ।
मोदीले यस विषयमा बहस गर्नुपर्ने आवश्यकता नरहेको तर यसको पछाडि रहेका व्यक्तिहरू पत्ता लगाउन ‘बृहत् अनुसन्धान’ आवश्यक रहेको बताएका छन् ।
बुधबार दुई जना युवाले आगन्तुक दीर्घाबाट लोकसभामा हाम फालेर रङ्गको धुलो फ्याँकेका थिए । सोही समयमा एक पुरुष र एक महिला गरी अन्य दुई जनालाई प्रहरीले संसद बाहिर हिरासतमा लिएको थियो ।
घटनामा संलग्न चार जनाबाहेक संदिग्ध अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले अनुसन्धानकर्ताहरूलाई आफ्नो उद्देश्य मणिपुर हिंसा, बेरोजगारी र किसानहरूको समस्याप्रति ध्यान आकर्षित गर्नु रहेको बताएका छन् ।
विपक्षी सांसदहरूले सङ्घीय गृहमन्त्री अमित शाहसँग संसदभित्र भएको सुरक्षा उल्लङ्घनबारे बयान दिन माग गर्दै आएका छन् । यो विषयले संसदको दुवै सदनको बैठक अवरुद्ध भएका छन् । विपक्षीले गृहमन्त्रीको वक्तव्य माग गरेपछि तल्लो सदनका १३ र राज्य सभाका एक सदस्यलाई निलम्बित गरिएको थियो ।
शनिबार लोकसभाको तल्लो सदनका सभामुखले सुरक्षा उल्लङ्घनको गहन अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको बताएका थिए ।