कराँचीको अस्पताल भर्ना भए अन्डरवर्ल्ड डन दाउद इब्राहिम, यस्तो थियो नेपाल साइनो
काठमाडौं– अन्डरवर्ल्ड डन दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना गरिएको रिपोर्टहरू आएका छन्।
भारतका पत्रपत्रिकाले यस्तो दाबी गरेका हुन्। इन्डिया टुडेको रिपोर्टका अनुसार अस्पतालमा दाउदलाई राखिएका कारण अन्य बिरामी छैनन्।
उनको परिवारका सदस्यहरू मात्र त्यहाँ जान सक्छन्। मुम्बई प्रहरीले पनि यस विषयमा निगरानी गरिरहेको छ। मुम्बईमा रहेका दाउदका आफन्तहरूबाट जानकारी सङ्कलन गर्ने प्रयास भइरहेको बताइन्छ।
दाउदको प्रभाव भारतमा हुने हत्या, विस्फोटदेखि धेरै प्रकरणमा रहेको दाबी गरिन्छ। यति मात्र होइन उनको नेपाल कनेक्शन पनि बलियो नै रहेको पाइएको थियो।
दाउदका साझेदार मसुद अजहरको नेपाल कनेक्शनमा दुईवटा विवरण अघि आएका थिए।
२४ बर्ष अघि र त्यसपछिका केही बर्षहरूमा नेपालमा अन्डरवर्ल्ड डन दाउदको लगानी नेपाली क्यासिनोहरूमा रहेको बताइन्थ्यो । सो क्रममा मसुद र दाउदबीच आर्थिक सम्बन्ध रहेको र आतंकवादका लागि रकम जम्मा पार्न नेपाली क्यासिनोमा लगानी हुने गरेको थियो।
यस्तै, भारतीय नक्कली नोटको कारोबारमा पनि मसुदको केही नेपालीसँग कनेक्शन थियो भन्ने अनुमान गरिएको छ। दाउद, मसुद सँगै भारतीय पक्षबाट नेपालमा हत्या गरिएका र वान्टेडमा राखिएका व्यापारीसँग उनीहरूको सम्बन्ध स्थापित थियो । हालसालै भने उक्त सम्बन्धहरू कायम नरहेको बताइन्छ।
मसुदलाई भारतले कास्मिर क्षेत्रमा गइरहेको भारतीय अर्ध सैनिक बलको डफ्फामा विस्फोट गराई ४२ जनाको हत्या गरेको आरोप लगाएको थियो।
मसुदसँग नेपालको अर्को ठूलो सम्बन्धचाहिँ २४ बर्ष अघि त्रिभुवन विमानस्थलबाट अपहरणमा परेको एयर इन्डियासँग छ।
सन् १९९९ को २४ डिसेम्बर अर्थात् ९ पुस २०५६ मा अपराह्न काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको उडान नम्बर ८१४ एयरबस भारतीय आकाशमा प्रवेश गर्नासाथ पौने ६ बजे अपहरणमा परेको थियो।
उल मुजाहिद्दिनका पाँचजना अपहरणकारीले जहाजलाई लाहोर लैजान खोजेका थिए। अपहरणकर्ताहरूको योजना स्पष्ट थियो– भारतीय कारागारमा थुनामा रहेका मौलाना मसुद अजहरलगायत कुख्यात आतंकवादीहरूको रिहाइ। तर भारत सरकार रनभुल्लमा थियो।
जानकारहरू भन्छन्,‘इन्धन सकिन लागेको हुँदा अन्ततः जहाज भारतको अमृतसरमा अवतरण भयो। त्यसबेला भारत सरकारले अपहरणकारीविरुद्ध कमान्डो कारबाही गर्न सक्थ्यो।’
नेपालको बाटो हुँदै पाकिस्तानी आतंकवादीले भारतमा दुर्घटना गराउन सक्ने अनुमानका आधारमा नै भारत सरकारले नेपालको विमानस्थलदेखि सुरक्षा निकायका सबै संयन्त्रमा सूचनाको पहुँच बनाएको बताइन्छ। अन्य मुलुकका तुलनामा नेपालमा त्यहाँका गुप्तचर संस्थाका धेरै भन्दा धेरै अधिकारी खटाइएको पनि बताइन्छ।
उक्त विमान अपहरण र आतंकवादीको त्यसबेलाको घटनालाई सम्झँदै मानवअधिकारवादी नेता कृष्ण पहाडीले लेखेको थिए,‘त्यसका लागि पन्जाब प्रहरीको युनिट पनि तम्तयार थियो। एउटा ट्यांकरलाई जहाजअगाडि तेस्र्याएर अवरोध गर्ने काम पनि भएको थियो। ४५ मिनेटपछि अपहरणकारीको जोड बलमा अमृतसरबाट जहाज उड्यो। यही बिन्दुमा भारत सरकार नराम्रोसँग चुक्यो।’
त्यसबेला भारतको गृहमन्त्री पदमा लालकृष्ण आडवाणी थिए भने प्रधानमन्त्री अटल बिहारी बाजपेयी। पहाडीले अगाडि भनेका थिए,‘विमान अपहरण प्रकरणले आडवाणीको व्यक्तित्वमा खिया लागेको देखियो। आखिर किन अमृतसरमा कारबाही गर्नबाट भारत हच्कियो?’
पहाडीले अगाडि भनेका थिए,‘त्यसका पछाडि अनेकौं कारण हुन सक्छन्, तर चर्चामा आएको र छापाहरूमा समेत छाएको समाचारअनुसार उक्त अपहृत विमानमा भारतीय दूतावासमा कूटनीतिक आवरणमा काम गरिरहेका भारतीय जासुसी संस्था ‘र’ का काठमाडौंस्थित स्टेसन उपप्रमुख शशी भूषण सिंह तोमर एस तोमरको नाममा यात्रा गरिरहेका थिए, जुन कुरा अपहरणकारीलाई समेत थाहा नभएको बताइन्छ।’
इन्डियन एयरलाइन्सको जहाज अपहरणको उक्त घटना र सम्झौताले सम्भवतः आतंककारीहरूको मनोबल ह्वात्तै बढेको थियो। जहाजले अमृतसर हवाई अड्डा छोडेपछि महँगो सौदाबाजीको आशंका भारतलाई नभएको होइन तर पनि भारतले अपमानकै मार्ग रोज्यो।
जहाज अपहरणको निर्देशन मौलाना मसुद संस्थापक रहेको जैस ए महम्मदले गरेको थियो भने कोरियोग्राफी पाकिस्तानी जासुसी संस्था आईएस आईले भन्ने चर्चा चलेको थियो।
२०५६ पुस ९ गते राती प्रधानमन्त्रीनिवास बालुवाटार चकमन्न थियो। जहाज अपहरण काण्डपछि प्रधानमन्त्री भट्टराईको राजनीतिक अवरोहको सिलसिला प्रारम्भ भयो। प्रधानमन्त्रीका रूपमा फ्रान्स भ्रमण गर्ने भट्टराईको अन्तिम इच्छा पनि पूरा भएन।
घटनाक्रम यसरी विकसित भयो र गराइयो कि जहाज अपहरणको तीन महिनाभित्रै भट्टराईलाई सत्ताबाट गलहत्याइयो।
कतिपयलाई ‘शोकको बेला पनि जोक गर्ने’ भट्टराईको विनोद शैली प्रिय लाग्ला, तर २०५६ चैतमा सत्ताबाट बाहिरिएपछि राजनीतिमा कृष्णप्रसाद भट्टराई नराम्ररी थला परे।
यसैगरी सन् १९९९ को उत्तराद्र्धमा भारतमा सम्पन्न लोकसभा निर्वाचनबाट पुनः सत्तारुढ भएका प्रधानमन्त्री अटल विहारी वाजपेयी र उपप्रधानमन्त्री लालकृष्ण आडवाणीले २००४ सम्मको अवधि पूरा गरे पनि त्यसपछि सत्तामा विराजमान हुन पाएनन्।
सन् २०१४ देखि भने भाजपा निरन्तर सत्तामा छ।