भारतमा विपक्षी दलका ९२ सांसद निलम्बित
काठमाडाैं - भारतीय लोकसभा र राज्यसभाबाट विभिन्न दलका ७८ सांसद निलम्बित भएका छन्। लोकसभाका कांग्रेस नेता तथा सांसद अरधीररञ्चन चौधरीसहित ३३ र राज्यसभाका कांग्रेस नेता सांसद जयराम रमेशसहित ४५ सांसद निलम्बित भएका छन् ।
यो निलम्बत जारी अधिवेशनको अन्तिमसम्म लागू हुनेछ। सांसदहरूलाई ‘पटक–पटक संसद्को कारबाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि निलम्बित गरिएको हो ।
यसअघि गत शुक्रबार लोकसभाका १३ र राज्यसभाका एक सांसदलाई निलम्बन गरिएको थियो। यससँगै कुल ९२ सांसद निलम्बित भएका छन् । यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ।
गत डिसेम्बर १३ मा दुई युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी संघीय सरकारविरुद्ध नाराबाजी गर्दै रंगिन धुवाँ फ्याँकेपछि संसदभित्र सुरक्षा उल्लंघनको विषय उठाउँदै विपक्षी सांसदले पटक–पटक आवाज उठाएका थिए ।