नेभिगेशन
खेलकुद
नेपाल सुपर लिग–२

पोखरा प्लेअफमा पुग्ने पहिलो टोली बन्यो

काठमाडौँ– नेपाल सुपर लिग–२ को प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली पोखरा थन्डर्स बनेको छ ।

आज दशरथ रंगशालामा भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै पोखराले प्लेअफमा स्थान पक्का गरेको हो । 

इन्जुरी समयको पहिलो मिनेटमा पोखराका मोजेस ट्वुमले गरेको गोल नै  निर्णयक गोल सावित भयो । आयुष घलानको थ्रु–पासमा मोसेसले गोल गर्दै पोखरालाई जित दिलाउन सफल भए ।

यस जितेले पोखरा ७ खेलमा १४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । यता बुटवल भने ७ खेलमा ७ अंकसहित सातौं स्थानमा छ । बुटवललाई अब प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि भर पर्नुपर्ने अवस्था छ ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ ।

लिग अन्तर्गत बुधबार झापा फुटबल क्लब र धनगढी फुटबल क्लबले खेल्नेछन् । दशरथ रंगशालामा खेल साँझ ५ बजे हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्