Nic Ad Nic Ad
Nic Ad Nic Ad
कोशी प्रदेशसभा

कोशीमा राजस्व सङ्कलनसम्बन्धी विधेयक सर्वसम्मतले पारित

बुधबार, पुस ४, २०८०

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले कोशी प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’’ सर्वसम्मतले पारित गरेको छ ।

सो विधेयक आर्थिक मामिला तथा योजनामन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सदनमा पेश गरेका थिए । 

विधेयकका सम्बन्धमा सदस्य अधिकारीले उठाएको प्रश्नको जवाफमा सरकारले संविधान र संसद्को अधिकारलाई हनन गरेको जनाउँदै विशेष परिस्थितिमा सरकारले आर्थिक विधेयक ल्याउन नसक्दा वा पारित गर्न नसक्दा राजस्व सङ्कलनमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले उक्त विधेयक प्रस्तुत गरिएको बताए । 

त्यसअघि नेकपा (एमाले) संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य निरन राईले देशको कृषि, सिँचाइ, सडक, शिक्षालय, अस्पताल तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सके बसाइँसराइका समस्या समाधान हुने बताए ।

बैठकको प्रारम्भमा प्रदेशसभासदस्य किशोरचन्द्र दुलाल, खगेश्वरी पौडेल, गीता तिमल्सेना, नीरादेवी खनाल, मैया श्रेष्ठ, रामदेव यादव, रेवतीरमण भण्डारी, विनोद राई र सदानन्द मण्डलले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभाको अर्को बैठक पुस ६ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्