प्रचण्डको बाज अवतारः भ्रष्टाचारका नयाँ फाइल खोल्ने, मन्त्रीमाथि ‘बोल्ड स्टेप’ चाल्ने
काठमाडौं– अन्य समयभन्दा फरक र आक्रामक शैलीमा देखिएका छन् माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। बालुवाटारमा भएको माओवादी पदाधिकारी बैठकमा उनी भूमीगत जीवनदेखि सार्वजनिक भएको ‘बाज’ अवतार र शैलीमा प्रस्तुत भएको बताइन्छ।
गठबन्धन सरकारको नेतृत्व गरेर एक बर्ष हाँकेका प्रचण्डले प्रधानमन्त्रीको कुर्सी भन्दा पनि त्यसको शक्तिको प्रयोग गरी सकारात्मक सन्देश दिने ठानेका छन्। उनले पदाधिकारी बैठकमा माओवादी होस् या अन्य दल काम नगर्ने मन्त्रीलाई ठाउँको ठाउँ बर्खास्त गर्ने पनि बताएका छन्।
‘मैले भनिसकेको छु। काम नगर्नेले मौका पाउँदैन’, प्रचण्डको भनाई उदृत गर्दै पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटा सुनाउँछन्,‘भ्रष्टाचारका नयाँ फाइल खोल्ने कुरा पनि आएको छ।’
आकारमा खुम्चँदै गए पनि काममा नखुम्चिने प्रचण्डको स्पष्ट भनाई थियो। उनले कुनै बेला खुलामञ्चमा माओवादी चील र अरु पार्टी चल्ला भएको भनी दिएको बोल्ड भाषणलाई स्मरण गर्नेगरी पदाधिकारी बैठकमा भने,‘मन्त्रीहरू तरबारको धारमा छन्। राम्रोसँग हिँडे साथ लैजान्छु काम नगरे बोल्ड स्टेप चाल्छु।’
बाहिर जति नकारात्मक आलोचना भए पनि सकारात्मक काममा पछि नहट्ने अड्डी कसेका प्रधानमन्त्री प्रचण्ड भ्रष्टाचारीमाथि निर्मम बन्ने योजनामा रहेका छन्। उनले बैठकमा भने,‘नयाँ–नयाँ फाइल खोलेर सबैलाई जाक्छु। मसित प्रधानमन्त्री पदको समय कम छ, काम धेरै छन्। माओवादीको सरकार थियो र भ्रष्टाचारीको भागाभाग भयो भन्ने बनाउँछु। पार्टीले नयाँ गति लिनेछ।’
माओवादी केन्द्रको सर्वत्र आलोचना भइरहेका बेला नेता कार्यकर्तालाई संगठन निर्माण र सुदृढ गराउँदै जान पनि प्रचण्डको निर्देशन रहेको छ। ‘पार्टी सरकारमा छ भनेर चुप लागेर बस्ने होइन, जनतासँग भिज्ने काममा लाग्नुपर्छ’, प्रचण्डले भने,‘रुपान्तरण अभियानका केही सकारात्मक सन्देश छन्। जनतामाझ माओवादी भएन भने आगामी दिन सुखद हुनेवाला छैन।’
यता सरकारमा रहेर जनतामा काम गरेको सन्देश लगिने र उता जनतामाझ बसेर संगठन बलियोसँग भिजाउने र रिझाउने काम एकसाथ गरिनुपर्ने प्रचण्डको बुझाई छ।
हुन पनि प्रचण्डले सरकारलाई गतिशील बनाउने निधो गरेका कारण नै हरेक दिन १० बजे सिंहदरबारबाट नै काम थालिसकेका छन्। अफिसियल काममा धेरै समय व्यस्त हुने र बाहिर कार्यक्रम परेकोबाहेकका दिनमा सिंहदरबारमा नै सक्रियता देखाउने लयमा प्रधानमन्त्री प्रचण्ड देखिएका छन्।