Nic Ad Nic Ad
Nic Ad Nic Ad

भिम रावलः एमालेभित्र न जिम्मेवारी न ‘पावर’

शुक्रबार, पुस ६, २०८०

काठमाडौंएमाले मुख्यालय तुलसीलाल स्मृति भवनमा अध्यक्ष केपी शर्मा ओली र भिम रावलबीच वार्ता भएपछि भनियोआइसब्रेक भयो।

१०औं महाधिवेशनमा ओलीलाई चुनौति दिँदै अध्यक्षमा उम्मेदवारी दिएका रावल नेतृत्वमा पराजित भए पनि एमालेमा सक्रिय नै रहे।

एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीमा उनलाई सम्मानजनक स्थान दिने लोभलाग्दा प्रस्ताव आए पनि बाटो मोडेनन्। बरु, उनीसँगै जिम्मेवारीमा नरहेका घनश्याम भुसाललेचाहिँ एकीकृत समाजवादीको महासचिव पद स्वीकार गरेका थिए।

एमालेको संकल्पयात्रामा पनि महत्वपूर्ण भूमिका र हिस्सेदारीमा नदेखिएका रावल राष्ट्रिय महत्वका विषयमा टिप्पणी गरिरहेका हुन्छन्। तर, एमालेभित्र उनलाई जिम्मेवारी दिने विषयमा साधारण बहस पनि चलाइएको छैन।

कतिपयले एमाले संस्थापनका गलत विषयमा पनि टिप्पणी गर्ने रावल एक्ला बृहस्पति पनि भन्ने गरेका छन्। यसैले हुनसक्छ, उनले कुनै जिम्मेवारी पाएका छैनन्।

संगठनमा रावल छैनन् भन्ने मिल्दैन। तर महत्वपूर्ण भूमिका दिइएको छैन। भूमिकाहिन भए पनि एमालेप्रतिको इमान र प्रजातान्त्रिक मान्यतालाई उहाँले त्याग्नुभएको छैन, रावलनिकट एक नेता भन्छन्,‘कुनै समय सुदूरपश्चिम क्षेत्रको कमान्डरका रुपमा एमालेलाई जगाउने नेता हो, उहाँ। अहिले पनि सक्रिय र लोकप्रिय भए पनि संगठनात्मक जिम्मेवारी नपाउनुभएको मात्र हो।

राष्ट्रवादी चरित्रका हिसाबमा रावल एक उदाहरणीय नेता हुन्। नेपाली भौगोलिक अखण्डताको विषयमा रावल जहिल्यै पनि रक्षात्मक र आक्रामक शैलीमा प्रस्तुत हुन्छन्।

एमाले नेतृत्वको उपल्लो पंक्तिमा पुगिसकेका रावल अहिले भने सांगठनिक हिसाबले महत्वपूर्ण जिम्मेवारीमा छैनन्। अध्यक्ष ओलीसँग उनको आइसब्रेक वार्ता भयो भन्नेहरू नै रावललाई जिम्मेवारी दिने विषयमा मौन छन्।

रावलको राजनीतिक जीवन असफल रहेन। उनी निरन्तर अछामबाट चुनावी प्रतिस्पर्धामा पनि अब्बलता देखाउने नेता हुन्।

०६६ मा माधव नेपालको मन्त्रीपरिषदमामा गृहमन्त्री र केपी ओलीको पहिलो मन्त्री परिषदमा उपप्रधानमन्त्री समेत रहेका रावल नेकपा एमालेका उपाध्यक्ष निर्वाचित भएका थिए।

२०७० सालमा अछाम१ बाट रावलले नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका थिए। बि.सं. २०७४ को आम निर्वाचनमा उनी अछामबाट फेरि निर्वाचित भए।

२०७८ श्रावण ३ मा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासमा मत लिने दिन उनले सांसद पदबाट राजीनामा दिएका थिए।

अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको उनको घोषणा थियो।

तर यति इमान हुँदाहुँदै पनि एमालेभित्र उनी अहिले भने पावरमा छैनन्। 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार